Logo

Breaking News 1

भारतको सर्वोच्च अदालतद्वारा समलिंगी विवाहलाई मान्यता दिन अस्वीकार


३० आश्विन २०८०, मंगलबार  

0
Shares

नयाँदिल्ली । भारतको सर्वोच्च अदालतले मंगलबार समलिंगी विवाहलाई वैधानिकता दिन अस्वीकार गरेको छ । यद्यपि, अदालतले एलजीबीटीक्यू सम्बन्धलाई स्वीकार गर्नु र तिनीहरूलाई भेदभावबाट संरक्षण गर्नु मुलुकको कर्तव्य थियो भनेको छ ।  

सर्वोच्च अदालतले समलिंगी यौनलाई प्रतिबन्ध लगाउने औपनिवेशिक कालको कानुनलाई खारेज गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले पछिल्लो पाँच वर्षदेखि समलिंगी साझेदारीलाई कानुनी हैसियत दिने संहिता बनाउने कदमको विरोध गर्दै आएको छ । 

धेरै समलिंंगी जोडीका वकिलहरूले यसै वर्षको सुरुमा अदालतलाई उनीहरूको सम्बन्धलाई पूर्णरूपमा वैधता प्रदान गर्न आग्रह गरेका थिए तर पाँच सदस्यीय इजलासले वैवाहिक समानताको विस्तार संसदीय निर्णय भएको फैसला गरेको छ । 

“विवाहमा कानुन निर्धारण गर्नु संसद् र राज्य विधानसभाहरूको क्षेत्राधिकार हो”, सर्वोच्च अदालतका प्रधानन्यायाधीश डी वाई चन्द्रचूडले आफ्नो फैसला सुनाउँदै भने ।  

भारतको संविधानले विद्यमान कानुनअन्तर्गत समलिंगी  जोडीहरूलाई विवाह गर्ने मौलिक अधिकारको प्रत्याभूति नगरेको फैसलामा भनिएको छ । विद्यमान कानुनले एक महिला र एक पुरुषको रूपमा पहिचान भएका जोडी वा दुवै ट्रान्सजेन्डर भएकालाई विवाह गर्न अनुमति दिन्छ ।

भारतलाई अझै पनि समलिंगी विवाहलाई स्वीकार गर्ने र तिनीहरूलाई भेदभावबाट जोगाउने दायित्व रहेको प्रधानन्यायाधीश चन्द्रचूडले बताए । 

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ५ : ३१ बजे