Logo

Breaking News 1

गैरीगाउँ हत्या प्रकरण : सञ्जयलाई जन्म कैदको मागदाबीसहित प्रतिवेदन पेश



काठमाडौं। काठमाडौं महानगरपालिका- ३२ तीनकुनेस्थित गैरीगाउँको दिव्य समिलमा गत भदौ २९ गते राति भएको चारजनाको हत्या प्रकरणको अनुसन्धान सकिएको छ ।

अनुसन्धान सकेर बुधबार प्रहरीले रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । व्यक्तिगत प्रतिशोधका कारण हत्या भएको भनिएको उक्त प्रकरणमा प्रहरीले विविध प्रविधिको परीक्षण गरेर अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

‘प्रहरीले हत्या आरोपमा सञ्जय भण्डारीलाई पक्राउ गरेको छ । उनी फरक क्षमता (बोल्न नसक्ने) भएकाले प्रहरीले दोभासेमार्फत बयान लिएको थियो’, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक कुमोध ढुंगलले भने ।

बयानका क्रममा सञ्जयले अन्य व्यक्तिको पनि हत्या गरेको बताएका थिए । अनुसन्धानका क्रममा प्रहरीले ‘ब्रेन म्यापिङ’ गरेको थियो । उक्त परीक्षणमा भण्डारीको दिमाग सामान्यभन्दा तीक्ष्ण देखिएको थियो ।

सरकारी वकिलको कार्यालयका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि न्याैपानेले प्रतिवेदन आइपुगेको र कार्यालयले अध्ययन गरिरहेको जानकारी दिए । अध्ययनपछि अभियोजना दर्ता हुनेछ ।

उनले भने, ‘प्रहरीले उनलाई जन्म कैदको सजाय माग दाबी लिनुपर्ने रायसहितको प्रतिवेदन बुझाएको ।’

आरोपीले रिसिबी साँधेर एक व्यक्तिको हत्या गरेको र उक्त घटना भएको देखेपछि घटना बाहिर जान नदिन एकै परिवारका अन्य तीनको हत्या गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए । राठौरको नेतृत्वमा उक्त घटनाको अनुसन्धान समिति बनाइएको थियो ।

भदौ २९ गते राति ११:५५ बजेको समयमा उक्त घटना भएको थियो । घटनमा कुमार भन्ने पूर्णबहादुर भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा शुभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका नवीन भन्ने विशाल राईको हत्या भएको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  १ : १९ बजे