Logo

Breaking News 1

कृष्णबहादुर महरालाई प्रतिवादी बनाइएन, राहुलसहित ४ जनाविरुद्ध मुद्दा दर्ता



काठमाडौं। विद्युतीय सिगरेट (भेप) मा लुकाएर सुन तस्करी भएको प्रकरणमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको छ । अपराधिक विश्वासघात, भन्सार चोरी पैठारी तथा संगठित अपराधको कसूरमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मुद्दा दर्ता गराएको हो ।

मुद्दामा पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुल भनिने रेशम महरा, चिनियाँ नागरिक दाओजिन वाङका सवारी चालक लोकेन्द्र पौडेल, थुनामा रहेका बेल्जियन नागरिक दावा छिरिङ र फरार बौद्धकी निमा गुरुङलाई प्रतिवादी बनाइएको छ ।

पूर्वसभामुख महरा भने प्रतिवादी बनाइएका छैनन् । टेलिफोन सम्पर्कका आधारमा मात्र महरालाई मुद्दा चलाउने स्थिति नदेखिएको प्रहरी अधिकृतहरु बताउँछन् । मिसिलमा संलग्न महराको बयान कागजमा महराले तत्कालीन विमानस्थल भन्सारका प्रमुख प्रशासन अरुण पोखरेललाई पहिल्यैदेखि चिनेकाले ‘के भएको हो, कानून बमोजिम के गर्न मिल्छ हेरिदिनु होला’ भनेर फोन गरेको भनेका छन् ।

उनीसँग सामान्य विषयमा फोनमा कुराकानी हुने गरेपनि त्यसबाहेक अरु कुनै किसिमको सम्बन्ध नरहेको दाबी गरेका थिए । थप चिनियाँ नागरिकलाई विवरण खुले र पक्राउ परेका बेला फेरि प्रतिवादी बनाउन मिल्ने गरी अभियोग दर्ता गराइएको सरकारी वकिलको कार्यालयका अधिकारीहरु बताउँछन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा नियमित जाँचका क्रममा २९ माघ २०७९ मा दुई वटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० थान ई–सिगरेट (भेप) बरामद भएको थियो । जाँच गर्दा त्यसमा सुन भएको थाहा पाएपछि भन्सारका नायब सुब्बाको मिलेमतोमा गोदाममा भएको भेप साटफेर गरेर ९ किलो सुन बिक्री गरेको खुलेको थियो । भेप साटफेर भएको थाहा पाएपछि खोजबिन गर्दा बरामद भएको भेपमा करिब ९ किलो सुन भेटिएको र त्यसलाई बिक्री गरेको खुलेको हो ।

यसबारे अनुसन्धान गरेको सीआईबीले बुझाएको रायसहितको प्रतिवेदनका आधारमा सुन बिक्री गर्ने र सुन किन्ने समूह विरुद्ध संगठित अपराध र आपराधिक विश्वासघात शीर्षकमा मुद्दा चल्यो । तर सीआईबीको ९० दिन लामो अनुसन्धान सुन तस्करी गर्ने मुख्य समूहसम्म पुगेको थिएन ।

आपराधिक विश्वाघातको कसूरमा अभियोग पत्र अदालतमा दर्ता हुँदा यसमा जोडिएका व्यक्तिहरुको कल डिटेल रेकर्ड (सीडीआर) को विश्लेषण चार्ट समेत समावेश भयो, जसले सुन ल्याउने समूहका चिनियाँ नागरिक लुई र डाओजिन वाङको कृष्णबहादुर महरा र उनका छोरा राहुल महरासँग सम्पर्क देखायो ।

सुन ल्याउने चिनियाँ नागरिक लुई र कृष्णबहादुर महरा बीच ११ पटक सम्पर्क भएको देखाइएको छ । तर मुद्दा चलाउन ठोस आधार नदेखिएको भन्दै प्रहरीले उनीहरुलाई प्रतिवादी बनाउन सिफारिस नै गरेन । पछि महरा बाबुछोराविरुद्ध अनुसन्धान गर्न तीब्र दबाबपछि प्रहरीले मुद्दा चलाएको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  १२ : ३५ बजे