Logo

कला/साहित्य

विवेक ओझाको ऐँठनलाई मदन पुरस्कार, टेकवीर मुखियालाई जगदम्बा श्री



काठमाडौं। २०७९ सालको मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठनले पाएको छ । आज बसेको मदन पुरस्कार गुठीको बैठकले ऐँठनलाई मदन पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो ।

यसैगरी जगदम्बा श्री पुरस्कार टेकवीर मुखियालाई दिने निर्णय भएको छ । मदन पुरस्कार र जगदम्बा श्री दुवैको पुरस्कारको राशी चार-चार लाख रुपैयाँ छ ।

ऐँठनमा माओवादी सशस्त्र आन्दोलनको बेला नेपाली समाजले भोगेको विषयवस्तु छ । ऐँठन विवेकको दोस्रो कृति हो । यसअघि उनले ऐलानी उपन्यास बजारमा ल्याएका थिए ।‘मदन पुरस्कार’ एक वर्षभित्र नेपाली भाषामा निस्किएका उत्कृष्ट कृतिहरूमध्ये एक कृतिलाई प्रदान गरिने पुरस्कार हो ।यो पुरस्कारका लागि अन्तिम सूचीमा परेका उत्कृष्ट पाँच पुस्तकहरुमध्येबाट ऐँठन छनोट भएको हो । उत्कृष्ट पाँच पुस्तकको सूचीमा ऐँठनसहित सुविन भट्टराईको इजोरिया, द्वारिकनाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर थिए ।

२०७८ को मदन पुरस्कार नवराज लम्सालको अग्नि र जगदम्बा श्री पुरस्कार दुर्गाप्रसाद श्रेष्ठले पाएका थिए ।

२०७९ सालको जगदम्बा श्री पुरस्कार पाएका टेकवीर मुखियाले नेपाली वाङ्गमय क्षेत्रमा योगदान दिएका छन् । उनले थुप्रै पेन्टिङ बनाउनुका साथै पुस्तकहरुको कभर र बालपुस्तकहरुमा चित्रकथा कोरेका छन् । उनी गोरखा दक्षिणबाहु, राष्ट्रिय प्रतिभा पुरस्कार लगायतबाट सम्मानित भएका छन् ।

संघीय संसदको लोगोको डिजाइन पनि उनैले गरेका थिए । तर आफूले दिएको दुईवटा डिजाइनमध्ये ‘रफ’ डिजाइनलाई स्वीकृत गरिएको भन्दै उनले असन्तुष्टि जनाएका थिए ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  १२ : २५ बजे