Logo

मनोरञ्जन

असोज २५ गते चितवनमा ‘एनप्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड’ हुने



चितवन। मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले आयोजना गर्न लागेको ‘एनप्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड–२०८० तथा सम्मान कार्यक्रम’ असोज २५ गते हुने भएको छ ।

भरतपुरको सिजी ल्याण्डमार्कमा रहेको चितवन सिनेप्लेक्समा बिहान ११ बजेदेखि हुने कार्यक्रममा देशभरबाट विभिन्न विधाका दुई दर्जन कलाकार सहित स्थानीयस्तरमा उत्कृष्ट काम गरेका व्यक्तिहरुलाई सम्मानित गरिने जनाइएको छ ।

आयोजक संस्था लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले अवार्डमा लाइफटाइम एचिभमेन्ट अवार्डबाट चर्चित कलाकार बसुन्धरा भुसाल सहितका कलाकारलाई सम्मान गरिने जानकारी दिए ।

दुई दर्जन कलाकारहरु सहित चितवनमा रहेर लामो समयदेखि काम गर्दै आउनु भएका पत्रकार, मावनीय सेवामा समर्पित व्यक्ति, व्यवसायी, चिकित्सक, स्वास्थ्यकर्मी, समाजसेवी, खेलाडी लगायतको हौसलाका लागि उनीहरुको प्रतिनिधित्व हुने गरी एक÷एक जना व्यक्तिलाई सम्मान गरिने कार्कीले बताए ।

अवार्ड वितरण तथा सम्मान प्रदानका लागि जुरी टिमले कार्यविधि बनाएर काम गरिरहेको कार्कीले बताए । ‘चितवनको इतिहासमा नैै पहिलो पटक यस प्रकारको फिल्मी अवार्ड आयोजना गर्दै छौँ,’ उनले भने, ‘अवार्डको प्रचार–प्रसारका लागि चर्चित कलाकारको साथमा अटोयात्रा समेत गरिँदै छ ।’ अवार्डको पूर्वसन्ध्यामा आयोजना गरिने अटोयात्राले भरतपुरको नगर परिक्रमा गर्ने महाप्रबन्धक कार्कीले जानकारी दिए ।

लक्की मिडिया हाउस चितवनले आयोजना गर्न लागेको अवार्डको मिति नजिकिएसँगै अवार्ड वितरणको तयारी तीव्र बनाउँदै कार्यक्रमका लागि कलाकारसँग भेटघाट तथा अन्तरक्रिया गरिरहेको कार्कीको भनाइ छ । महाप्रबन्धक कार्कीले सिने क्षेत्रलाई स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउन गुणस्तरीय सिनेमा निर्माणका लागि अवार्ड कार्यक्रमले सघाउने बताए । कलाकारहरु राष्ट्रका गौरव र गहना भएकाले उनीहरुले पुर्याएको योगदानको कदर गर्नेुपर्नेमा कार्कीले जोड दिए ।

२०७१ सालमा स्थापना भएको लक्की मिडिया हाउस चितवनले चितवनबाट सिनेमा बजारको प्रचार, प्रवर्द्धनका काम तथा विभिन्न इभेन्ट्सहरु गर्दै आइरहेको कार्कीको भनाइ छ । फिल्मी अवार्ड तथा सम्मान कार्यक्रमलाई चितवनको गौरव र गरिमामय कार्यक्रमको रुपमा अगाडि बढाउँदै बर्सेनि सम्मानको कार्यक्रमलाई निरन्तरता दिइने महाप्रबन्धक कार्कीको भनाइ छ ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ११ : ४६ बजे