Logo

मुख्य समाचार

गृहले पठाएका ३४ जनाको कैद मिनाहा भएन, ६७० जनाले संविधान दिवसका दिन माफी पाउने



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा ६७० जना कैदीहरुको कैद कट्टा गरी सजाय माफी मिनाहा दिएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसका आधारमा मंगलबार विभिन्न ऐन, नियमअनुसार बुधबारदेखि लागू हुने गरी ६७० जनाको माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जनाएकी छन् ।

यसअघि संविधान दिवसको अवसरमा कैद सजाय मिनाहाका लागि सिफारिस भएकामध्ये ३४ जनाको बारेमा राष्ट्रपति कार्यालयले असन्तुष्टि जनाएको थियो ।

राष्ट्रपति कार्यालयले माफी मिनाहाका लागि सिफारिस भएका ३४ जनालाई माफी दिनु पर्ने कारणसहित स्पष्ट आधार लेखेर पठाउन गृह मन्त्रालयलाई पत्राचार गरेको थियो । गृह मन्त्रालयले मन्त्रिपरिषदबाट निर्णय भएको बाहेक ३४ जनाको सूची पठाएपछि यसबारेमा स्पष्ट हुन खोजेको राष्ट्रपति कार्यालयको भनाई थियो ।

कारागार व्यवस्थापन विभागले कैद माफीका लागि आठ सय जनाको सूची पठाएको भएपनि गत शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले ६ सय ७० जनाको मात्रै कैद मिनाहा गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  ९ : ११ बजे