Logo

समाचार

एकता प्रक्रिया अगाडि बढाउन एनआरएनए उपाध्यक्ष शर्माको अनुरोध



सिड्नी । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) का उपाध्यक्ष राजेन्द्रकुमार (आरके) शर्माले एकता प्रक्रिया अगाडि बढाउन अनुरोध गरेका छन् । एनआरएए अस्ट्रेलियाको साधारण सभा तथा नेतृत्व हस्तान्तरण कार्यक्रममा सहभागी हुन अस्ट्रेलिया पुगेका शर्माले सबैको एउटै उद्देश्य भएको हुँदा मिलेर अगाडि बढनुपर्ने बताए ।

एनआरएनए अस्ट्रेलियाको कार्यक्रममा शर्माले एनआरएन अभियानमा पूर्व अध्यक्ष शेष घलेको भूमिका पनि उतिकै महत्त्वपूर्ण रहेको हुँदा सबै पक्ष मिलेर जानुपर्नेमा जोड दिए । ‘सम्माननीय प्रधानमन्त्रीको उपस्थितिमा दुवै पक्षले एकतामा जाने गरेको हस्ताक्षर अनुसार अगाडि बढ्नुपर्छ,’ शर्माले भने, ‘सबैको उद्देश्य नेपाललाई सम्बृद्द बनाउने भएको हुँदा मिलेर जानुको विकल्प छैन ।’

शर्माले आइसीसीमा हुने निर्वाचनको प्रभाव एनसीसीमा देखिन नहुँने भन्दै अभियानलाई विभाजन गर्ने तर्फ नगएर एकताको कार्यमा अगाडी बढनुपर्नेमा जोड दिए । उनले नेपालबाट विदेश आएका नेपालीहरूको एउटै उद्देश्य रहेको भन्दै सबैको साझा समस्यालाई एनआरएनए अभियानले समाधान गर्नुपर्ने बताए ।

शर्माले यो पटकको एनसीसीको निर्वाचन विवाद रहित तरिकाले सम्पन्न भएको भन्दै अभियान अब नयाँ ढंगले अगाडि बढ्ने बताए । ‘अभियानको पवित्र उद्देश्यमा हामीहरूले सामाजिक सेवालाई निरन्तरता दिएर आर्थिक विकासको लागि काम गर्नुपर्छ,’ शर्माले भने, ‘हाम्रो उद्देश्य नेपाललाई विकसित देश बनाएर छिट्टै विदेशबाट फर्कने हो।’

आगामी अधिवेसन सन २०२३÷२५ मा गैरआवासीय नेपाली संघको अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका शर्मा अहिले ओसियाना क्षेत्रमा रहेका छन् । अस्ट्रेलियामा एनआरएन अभियन्तासँग भेटेर शर्माले सुझाव लिइरहेका छन । अस्ट्रेलिया भ्रमण सकेपछि शर्मा आइतबार न्युजिल्याण्ड जाने तयारीमा रहेका छन । शर्माले नेतृत्वको लागि युरोप,जापान तथा मलेसियाको भ्रमण गरेर गैरआवासीय अभियन्तासँग छलफल तथा अन्तरक्रिया सम्पन्न गरिसकेका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ८ : १४ बजे