Logo

Breaking News 1

संसद विजनेशविहिन, एमाले अवरोधको बाटोमा


१६ श्रावण २०८०, मंगलबार  

0
Shares

काठमाडौं । केहीदिनअघि नेकपा एकता अभियानका संयोजक रहेका राष्ट्रियसभा सदस्य बामदेव गौतमले अहिलेको संसद अव्यवस्थित रहेको टिप्पणी गरेका थिए ।

गत शुक्रबार राष्ट्रियसभा अन्तर्गतको दीगो विकास तथा सुशासन समिति बैठकमा बोल्दै गौतमले भनेका थिए,‘एक जनाले मात्रै बोल्नुपर्ने ठाउँमा २७५ जना नै उठेर बोल्ने गरेका छन् । कहिले ५० जना, कहिले १०० जना र एकातिर एउटा अर्कोतर्फ अर्को सांसद उफ्रिएको छ । संसद असभ्य र संस्कृतिहीन भएको छ ।’

गौतमले भनेजस्तै पछिल्लो समय संसदका गतिबिधि त्यस्तै देखिन थालेका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले कहिले प्रधानमन्त्रीको राजीनामा, कहिले गृहमन्त्रीको राजीनामा माग्दै संसद अवरुद्ध गरिरहेको छ । प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममा बोलेको विषयलाई लिएर संसद अवरुद्ध गरेको एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणदेखि जलहरी प्रकरणसम्म संसद अवरोधकै बाटो रोज्यो ।

प्रधानमन्त्रीले संसदमा सम्बोधन गरिरहेका बेला समेत होहल्ला गर्ने प्रवृत्ति पछिल्लो समय बढ्न थालेको छ । अहिले भने एक सय किलो सुन तस्करी प्रकरणमाथि छानविन गर्न उच्चस्तरिय समिति गठन गर्न माग गर्दै संसद अवरोध गरिरहेको छ । एमाले र सत्तारुढ दलका बिचमा कुरा नमिल्दा संसद बैठक एकसाताका लागि स्थगित गरिएको छ ।

सुन तस्करी प्रकरणमा उच्चस्तरिय छानविन समिति गठन गर्नुपर्ने एमालेको मागमा अन्य प्रतिपक्षी दल र सत्तारुढ दलकै कतिपय सांसदहरुले समेत एकमत देखिन्छन् । तर सत्तारुढ दल भने यसमा तयार देखिएका छैनन् । जसका कारण संसद अवरुद्ध भइरहेको छ । संसदको चालू अधिवेशन अहिलेसम्म एउटा मात्रै कानून बनाएको छ । हुनत बजेट अधिवेशनको मुख्य काम बजेट पारित गर्नु हो । तर महत्वपुर्ण कतिपय कानून समेत बनाउनुपर्ने समयमा सरकारले संसदलाई विजनेश दिन सकेको छैन भने एमाले भने निरन्तर अनेक बहानामा संसद अवरुद्ध गरिरहेको छ ।

यसले कुनैबेला एमालेका प्रभावशाली नेताका रुपमा रहेका बामदेव गौतमले भनेजस्तै संसद असभ्य हुने हो कि भन्ने चिन्ता भने शुरु गरिदिएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ९ : ४५ बजे