Logo

मुख्य समाचार

पहिरो खस्दा घाँस काट्न गएका दुई जनाको मृत्यु



काठमाडौं । रुकुम पश्चिममा पहिरो खस्दा दुई जनाको निधन भएको छ । बाँफिकोट गाउँपालिका–७ बाँसथलास्थित पोखरापरी भिरमा घाँस काट्न गएका दुई जनाको पहिरोमा परी ज्यान गएको प्रहरीको भनाइ छ ।

पहिरोमा परी एक जना घाइते भएका छन्। आज दिउँसो पौने तीन बजेको समयमा घाँस काट्न गएका बाँफिकोट गाउँपालिका–७ की ५४ वर्षीया धनमाया खत्री र सोही ठाँउका ४४ वर्षीय कालिबहादुर खड्काको पहिरोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममले जनाएको छ ।

उनीहरूको घटनास्थलमै ज्यान गएको हो । त्यस्तै बाँफिकोट–७ कै ४२ वर्षीया बलकुमारी खत्री घाइते भएका छन् । खत्रीलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ८ : २२ बजे