Logo

Breaking News 1

कांग्रेसमा शेखर–गगन समूह भत्किने करिब निश्चित



काठमाडौं । नेपाली कांग्रेसभित्र नयाँ ध्रुविकरण बन्ने करिब निश्चित देखिएको छ । सभापति शेरबहादुर देउवा र चौधौं महाधिवेशनमा देउवाकै प्रतिस्पर्धी शेखर कोइरालाबीच देखिएको निकटताले महामन्त्री गगन थापाहरुको ध्रुवीकरण हुने करिब निश्चित देखिएको छ ।

महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्मासहित कोइराला पक्षीय केही नेताहरु समेत समावेश भएर पार्टीभित्र नयाँ गुट निर्माण हुने निश्चित भएको हो । कोइराला आँखाको उपचार गर्न सिंगापुर जाने बेलैमा महामन्त्री थापालाई सभापतिविरुद्ध धेरै गतिबिधि नगर्न आग्रह गरेपछि नै कांग्रेसभित्र अर्को गुट बनाउनेगरी महामन्त्री लागेको उनी निकटका नेताहरु बताउँछन् ।

महामन्त्री थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्माको साथ छ । शर्मा उपसभापति पुर्णबहादुर खड्कासँग निकट सम्बन्ध भएका नेता समेत हुन् । संसदीय दलको चुनावमै संस्थापन इतर समुहमा रहेका शेखर कोइराला र महामन्त्री गगन थापाका बिचमा खटपट शुरु भएको थियो । मन्त्री छान्ने बेलामा कोइरालाले महामन्त्रीहरुसँग छलफल समेत नगरेको विषयले इतर समुहभित्र रहेको असन्तु्ष्टि सार्वजनिक भएको थियो ।

यता महामन्त्री थापा निकटका नेताहरुका अनुसार उपसभापति धनराज गुरुङसहित कोइराला देउवा क्याम्पमा जाने तयारी गरिरहेका छन् । अहिले कोइरालालाई वरिष्ठ नेता बनाउने र आगामी अधिवेशनमा कोइरालालाई नै नेतृत्व हस्तान्तरण गर्ने रणनीति सभापति देउवाको रहेको महामन्त्री थापा पक्षको दाबी छ ।

सभापति देउवाले आगामी महाधिवेशनमा आफु सभापतिको दाबेदार नहुने स्पष्ट पारिसकेका छन् । सभापति देउवाले कोइराला परिवारलाई नेतृत्व जिम्मा लगाएर विश्राम लिन खोजेको देखिन्छ । जसले देउवा पक्षकै नेताहरु समेत नयाँ गुटमा जानसक्ने देखिएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  १० : ४४ बजे