Logo

Breaking News 1

कान्ति बाल अस्पतालमा निर्देशक बसौलाको राज, कराेडौं अनियमितता !



काठमाडौं । नेपालको सबैभन्दा पुरानो र ठूलो बाल अस्पताल हो कान्ती बाल अस्पताल। तर यतीखेर अस्पतालमा वेतिथी र चरम आर्थिक चलखेलका कारण अस्पताल निकै शिथिल बनेको छ। एकातर्फ चरम आर्थिक अनियमितताले गाजेको छ भने अर्कोतर्फ सेवामा समेत संकुचन गर्दै लगिएको छ। वि.स. १९६३ मा बाल रोगको रुपमा सुरु भएको अस्पतालमा तत्कालिन समयमा ५० बेडको सेवा संचालनमा रहेको थियो। वि.स. १९७० मा नेपाल सरकारले थप १०० बेड थपेर अस्पतालमा १५० बेडको सेवा विस्तार गरेको थियो। सेवा विस्तार संगै कान्ती बाल अस्पतालको नामबाट संचालन हुन् थालेको हो। देसकै सबैभन्दा ठूलो बाल अस्पताल रहेको कान्ती बाल अस्पतालमा पछिल्ला दिनहरुमा निकै ठूलो आर्थिक अपचलन तथा घोटालाका घटना भएका छन।

विशेषगरी अहिलेका निर्देशक युबानिधि बसौलाका कारण अस्पतालमा वेतिथी र अनियमितताका घटनाहरु मौलाएका छन। जसका कारण अस्पतालको गुणस्तरीय सेवा र सुविधा लिन सर्वसाधारण जनता वन्चित हुनु परेको छ। अस्पताल नेपाल सरकारको पूर्ण स्वामित्वमा संचालन भएतापनि अस्पताल विकास समिति मार्फत सेवा संचालन र नियमन हुदै आएको छ। अस्पताल विकास समितिलाई निर्देशक बसौलाले दुहुनो गाई बनाएर करौडौ रुपैयाको आर्थिक घोटला गरेको देखिन्छ। अघिल्लो आर्थिक वर्षको अन्तिम दुई महिनामा मात्र दुई करोड १७ लाख भन्दा बढीको सामान कोटेसनमा खरिद गरेको पाइएको छ। कोटेसनको आधारमा खरिद गरिएका ति सामानको मुल्य बजार मुल्य भन्दा ५० देखी २०० गुणा महंगो राखेर बिल भुक्तानी गरिएको छ।

निर्देशक बसौलाको चलाखी यतिसम्म देखिन्छ की १० लाख भन्दा बढीको सामान खरिद गर्नुपरे सार्वजनिक बोलपत्र मार्फत गर्नुपर्ने हुन्छ। तर उनले एकै व्य्क्तीबाट फरकफरक फर्म प्रयोग गरी १० लाख भन्दा कम लागत मुल्य बराबरको कोटेशन तय गर्न लगाई अस्पताललाई चाहिने सरसफाइका समान, सर्जिकल समान र अन्य मेसिनरी सामान खरिद गरेको देखिन्छ। खरिद गरिएका मध्ये केही मेसिनरी सामान प्रयोगविहीन अवस्थामा अस्पताल परिशरमा वेवारिसे अवस्थामा भेटिएका छन। अस्पतालमा आवश्यक पर्ने ठुला मेसोनरी औजार खरिद गर्नुको सट्टा सपल्यार्स संगको मिलेमतोमा उनले आफ्नो स्वार्थ अनुरुपका सर-समान खरिदमा बढी रुची दिदै आएको अस्पतालमा कार्यरत कर्मचारीको गुनासो रहेको छ। आवश्यकता भन्दा बढी कर्मचारी नियुक्ति गरका उनले अस्पतालको सेवालाई भने निजि अस्पताल संगको कनेक्सनमा कमिसनको कारण पूर्ण रुपमा संचालन गरेका छैनन् ।

अस्पताल मा ५२ बेडको आइसीयु भएता पनि उनले ३६ बेड मात्र संचालन गर्न लगाएका छन्। तर मन्त्रालयले ५२ बेडकै पैसा उपलब्ध गराउदैं आएको छ । उता पेइंग बेड तर्फ ४० रहेता पनि बिरामीलाई निजि अस्पताल पठाए बापत आउने कमिसनको चक्करमा २० बेड मात्र संचालन गर्दै आएको पाइन्छ । कान्ति बल अस्पतालमा ब्लड बैंक टेक्निसियन भने पदको दरबन्दी कतै उल्लेख छैन , तर बसौलाकै पालामा सो पद लगायत अन्य पदमा आवश्यकता भन्दा बढी कर्मचारीलाई नियुक्त गरेका कारण अस्पताललाई थप भार परेको देखिन्छ । जुन विषयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कान्ति बाल अस्पताल नियमावली २०६३ र नेपाल स्वास्थ्य नियमावली २०५५ बिपरित छ भनि मिति २०८० बैशाख १० गते पत्र लेखी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई छानबिन प्रतिबेदन पठाउन माग गरेको छ ।

अस्पताललाई चुस्त दुरुस्त बनाई प्रसाशनिक तथा अस्पतालको कामकारवाहीलाई सहज रुपले संचालन गर्नका लागि कर्मचारीहरुको ई-हाजिरीलाई समेत हटाएको र म्यानुअल हाजिरिलाई संचालनमा ल्याएको पाइन्छ। ल्याब रुमको एक लाख मूल्य लगाएर एउटा टेबल मर्मत गर्दा होस् चाहे दुईओटा इसीजी (ECG) मेसिन, सिटी स्क्यान मेसिनको ब्याट्री खरिद गर्दा नै किन नहोस् सबै विषयमा आर्थिक स्वार्थ जोडिएको भन्दा अरु केहि देखिदैन । छ लाख मूल्य बराबरको दुइओटा इसीजी मेसिन अस्पतालमा नै नभेटिएको कार्यालय कर्मचारी बताउछन । त्यस्तै स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत बिमा बोर्डबाट प्राप्त १० प्रतिशत शोधभर्ना रकम (प्रोत्साहन भत्ता) तल्लो तहका कर्मचारिहरुलाई दिइनुपर्ने तर निर्देशक लगायतका सिमित कर्मचारीहरुले बुझिएको देखिन्छ । पछि त्यो खोजीनिती भएपछी केहि रकम भने फिर्ता गरिएको थियो ।

तत्कालिन स्वास्थ्य मन्त्री भवानी खापुंगका पालामा कर्मचारी संग-संगठनले २१ बुंदे माग राखी आन्दोलन गरेका थिए । अन्दोलनको दौरानमा अस्पताल सुधारका लागि अस्पताल बिकाश बोर्ड गठन गर्ने सहमति भएको थियो । ११ सदस्य बोर्ड गठन गर्नुपर्ने भएता पनि हाल बोर्डमा ६ सदस्य मात्र रहेका छन् । कारण उक्त बोर्डमा बसौलाकै बोलवाला भएकाले बोर्डलाई पूर्णता दिन वेवास्ता गरेको उनीमाथि दोष लाग्दै आएको छ। यतिसम्म फट्याई भएको छ्की नेपाल सरकारले उपलब्ध गराएको केही मेसिन अस्पतालले बुझेको देखिन्छ तर पछी सोही मेसिन खरिदको नाममा बिल भुक्तानी गरेको पाईएको छ।

सो विषयको छानबिनका लागि मिति २०७९ साउन १७ गते राष्ट्रीय सतर्कता केन्द्रमा अनियमितता खरिदको छानबिन गरि पाउ भनी उजुरी समेत परेको छ। यसरी अख्तियार र राष्ट्रीय सतर्कता केन्द्रमा समेत उजुरी परी छानबिन कै चरणमा रहेको हुँदा पक्कै पनि सत्यतथ्य कुरा चाडो बाहिर आउनेनै छ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  १२ : ३१ बजे