काठमाडाैं । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाको एउटै वडामा एक सय ५० बढी गाईगोरुमा ‘लम्पी स्किन रोग’ देखा परेको छ । बर्दिबास–१० खयरमारामा स्थानीयले पालेका गाईगोरुमा लम्पी स्किन रोग देखिएको स्थानीय पशुपालक कृष्णबहादुर थापाले बताएका छन् ।
उनका अनुसार विगत १०–१५ दिनदेखि गाउँमा रोगले समस्या हुँदै गएको र अहिलेसम्म १० पशु मरिसकेको छन् । केही दिनदेखि पशुको छालामा अचानक नयाँ खालको सङ्क्रमण देखिन थालेको, जीउभरि गिर्खा आउन थालेको, घाउजस्तो भएर पिप बग्न थालेको, उच्च ज्वरोलगायतका लक्षण देखिएको र अहिलेसम्म १० पशु मरिसकेको स्थानीय पशुपालक वीरेन्द्र थापाले बताए ।
बर्दिबास नगर प्रमुख प्रल्हदकुमार क्षेत्रीले खयरमाराका पशुमा लम्पी स्किन देखिएको र यसको रोकथाम र उपचारका लागि पशु चिकित्सकसँग परामर्श सहित आवश्यक औषधिको व्यवस्थापन गर्न लागेको बताए । महोत्तरीमा रहेको १५ स्थानीय तहमध्ये अधिकांश स्थानीय तहमा लम्पी स्किन रोग फैलिएको जनाइएको छ ।
प्रतिक्रिया