काठमाडौं । तत्कालीन राजा ज्ञानेन्द्र आफैले विघटन गरेको संसद पुर्नस्थापना गरेको दिनको सम्झनामा आज १८ औं लोकतन्त्र दिवस मनाइँदैछ ।
विक्रम संवत् २०६२र६३ को दोस्रो जनआन्दोलन सफल भएपछि २०६३ वैशाख ११ गते नेपालमा लोकतन्त्र स्थापना भएको थियो । तत्कालिन राजा ज्ञानेन्द्रले २०५९ साल जेठ ८ गते विघटन गरेका संसद २०६३ वैशाख ११ गते पुर्नस्थापना गरेका थिए ।
सत्ता हातमा लिएपछि नेताहरुलाई केही समय जेल हालेका ज्ञानेन्द्रले संसद विघटनपछिको समयमा लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवालाई प्रधानमन्त्री समेत बनाएका थिए ।
तर शसष्ज्ञ संघर्षमा रहेको तत्कालिन नेकपा माओवादी र सात राजनीतिक दलबिच भएको १२ बुँदे समझदारीअनुसार ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरुद्ध आन्दोलन चर्किएपछि संसद पुर्नस्थापना भएको थियो । दोस्रो जनआन्दोलनको नाम पाएको आन्दोलनमा दुई दर्जन बढीको ज्यान समेत गएको थियो ।
आन्दोलनरत दलले तयार पारेकै मस्यौदाका आधारमा ज्ञानेन्द्रले ०६३ वैशाख ११ गते राति संसद पुर्नस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरेका थिए ।
त्यसपछि विक्रम सम्बत् २०६३ साल जेठ ४ गते बसेको पुर्नस्थापित संसद बैठकले राजदरवारको अधिकार कटौती गर्दै माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्ताव पारित गर्यो । २०६३ मंसिर ११ मा माओवादी हतियार बिसाउँदै शान्तिपूर्ण राजनीतिमा आएको थियो ।
त्यसकै पृष्ठभूमिमा २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन सम्पन्न भएपनि संविधान जारी गर्न भने असफल भएको थियो । तर चुनावपछि गठन भएको संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्ष लामो राजसंस्थाको अन्त्य भएको घोषणा गर्दै नेपालमा गणतन्त्र स्थापना भएको ऐतिहासिक घोषणा समेत गरेको थियो ।
प्रतिक्रिया