Logo

मुख्य समाचार

संविधानको कार्यान्वय, गणतन्त्रको सुदृढीकरण, स्थिरता र समृद्धिका लागि समर्पित हुनेछु : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षका मेरा हरेक दिन र हरेक क्षण संविधानको कार्यान्वय, गणतन्त्रको सुदृढीकरण, स्थिरता र समृद्धिका लागि समर्पित हुने बताएका छन्  । नयाँ वर्ष २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले सोबल बताएका हुन् ।

शुभकामना सन्देश

आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू, नयाँ वर्ष २०८० को पुनित अवसरमा देश तथा विदेशमा रहनुभएका समस्त नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । मलाई विश्वास छ, नयाँ वर्ष हामी आफैंमाथि भरोषा र आशाको वर्ष हुनेछ ।
                           
हरेक नयाँ वर्ष एउटा सुरुवात हो । विगतको समीक्षासहित नयाँ संकल्प गर्ने दिन हो । हामीले आत्मसमीक्षा गर्नैपर्छ तर हामीलाई निराश हुने छुट छैन । राष्ट्र–निर्माणको साझा संकल्पका लागि नयाँ वर्षभन्दा उपयुक्त समय अरु हुनै सक्दैन । राष्ट्रले मलाई दिएको भूमिकामाथि आभार प्रकट गर्दै प्रधानमन्त्रीका रूपमा म समस्त नेपाली जनसमुदायसँग संकल्प गर्दछु, नयाँ वर्षका मेरा हरेक दिन र हरेक क्षण संविधानको कार्यान्वय, गणतन्त्रको सुदृढीकरण, स्थिरता र समृद्धिका लागि समर्पित हुनेछन् ।

मेरा केही ठोस संकल्प छन् । निर्देशनको तहलाई कार्यान्वयनमा लैजान परम्परागत अवरोधबीच पनि यो बीचमा सकारात्मक सुरुवात भएको छ । अर्थतन्त्रमा देखिएका संकट र चुनौती क्रमश: कम हुँदै गएका छन् । वैदेशिक रोजगार व्यवस्थित हुँदै गएको छ, श्रमिकको अधिकार सुरक्षित गर्न महत्वपूर्ण सामाजिक सुरक्षा अभियानमा उनीहरू जोडिएका छन् । नागरिकले प्राप्त गर्ने सेवाहरू झन्झटमुक्त बनाउने अभियान सुरू भएको छ ।

बैंक ब्याजदर कम हुँदै गएको छ । व्यवसायीहरुको बैंक ब्याज सम्बन्धी चिन्तालाई सम्बोधन गर्न सकारात्मक छलफल भइरहेको छ । राजश्व संकलनमा वृद्धि भइरहेको छ । परम्परागत प्रकृतिको विकासको मोडेल र योजना तर्जुमा प्रक्रियामा हामी क्रमभंग गर्न गइरहेका छौं । एउटा सकारात्मक वातावरण बनिरहेको छ तर हाम्रै पुस्ता र नयाँ पिँढीको गुणस्तरीय भविष्यका लागि हामीले अझै धेरै मेहेनत गर्नु छ । सामूहिकताको संस्कृति विकास गर्दै थुप्रै चुनौतीलाई सहमति र सहकार्यबाट परास्त गरेका सफल अनुभव हामीसँग छन् । नयाँ वर्षलाई पनि सहमति र सहकार्यमार्फत समृद्ध नेपालको आधार निर्माण गर्ने वर्षका रूपमा मनाउन म आम जनसमुदायमा विशेष अपील गर्दछु । नयाँ वर्षमा हामी विश्वास, आशा र साहसका साथ राष्ट्रका कमजोरी होइन, राष्ट्रका क्षमता उजागर गर्नेछौं ।

संकल्प गरौं, सिंगो राष्ट्रको साझा संघर्ष र संकल्पबाट यो वर्ष केवल क्यालेण्डर परिवर्तन गर्ने छैनौं, राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउनेछौं । २०८० लाई राष्ट्रिय उपलब्धिहरूको ऐतिहासिक वर्ष बनाउने प्रणसहित समस्त नेपाली जनसमुदायको शान्ति, प्रगति र सुस्वास्थ्यको कामना गर्दछु ।
धन्यवाद ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ८ : ०५ बजे