Logo

स्वास्थ्य

भरतपुर अस्पतालबाट नक्कली पीसीआर रिपोर्ट तयार !



चितवन । चितवनको भरतपुर अस्पतालको लेटरप्याड र डिजिटल हस्ताक्षर प्रयोग गरेर नक्कली कोरोना रिपोर्ट बनाएको पाइएको छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले अस्पतालको लेटरप्याड र हस्ताक्षर दुरुपयोग गरेर पीसीआर परीक्षणको नक्कली रिपोर्टहरु तयार पारिएको जानकारी दिएका हुन् ।

अस्पतालले गत माघ १३ गतेदेखि अहिलेसम्म अस्पतालमा कोभिड १९ को पीसीआर परीक्षण कार्य रोकिएको जनाएको छ । रिएजेन्ट अभावका कारणले कोरोना परीक्षण रोकिएको हो । अस्पतालमा दैनिक ४५ जनाको एन्टिजेन परीक्षण भने भइरहेको छ ।

तर एसईई र क्याम्पसस्तरको परीक्षा दिने विद्यार्थीहरुले नक्कली पीसीआर रिपोर्ट बनाएको पाइएपछि अस्पतालले अनुसन्धान गरिदिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको चितवन प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।

नक्कली रिपोर्ट बनाउनेहरुको बारेमा अनुसन्धान अगाडि बढाइएको पनि उनले जानकारी दिए । ‘खोजी कार्य जारी छ, अहिलेसम्म कोही पक्राउ परेको छैन,’ प्रवक्ता पण्डितले भने, ‘अनुसन्धानबाट दोषीहरु पक्राउ गरेर सरकारी कागज किर्ते तथा छाप दुरुपयोगलगायतका अन्य मुद्दामा कारबाही हुन्छ ।’

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  १० : ५८ बजे