Logo

Breaking News 1

रविको राहदानी मुद्दा न्यायाधीश फुँयालको इजलासमा



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राहदानी (पासपोर्ट) दुरुपयोग कसुरमा कारबाही गर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता मुद्दा हरिप्रसाद फुँयाल एकल इजलासमा पेसी तोकिएको छ। आठौँ नम्बरमा पेसी रहेको यो मुद्दा आज भने सुनुवाइ हुने सम्भावना छ।

यसअघि मंगलबार पनि पेसी तोकिएको थियो। तर न्यायाधीश अनिलकुमार सिन्हाले यो मुद्दा हेर्न नमिल्ने भन्दै सुनुवाइ नगरेपछि आजलाई पेसी सरेको हो। सुनुवाइ सुरु गर्न लाग्दा सिन्हाले यसअघि संवैधानिक इजलासमा रहेर आफूले रविको मुद्दा हेरेकाले अन्य न्यायाधीशकहाँ पेसी तोक्न आदेश दिएका थिए।न्यायाधीश फुँयाल यसअघि नागरिकता मुद्दाको सुनुवाइमा संलग्न थिएनन्।

सिन्धुलीका युवराज पौडैल ‘सफल’ले आइतबार सर्वोच्चमा दायर गरेको रिट सोमबार दर्ता भएको हो। रिटमा उत्प्रेषण, परमादेश लगायत जे–जो चाहिने उपयुक्त आज्ञा आदेश जारी गरी पाऊँ भनी माग गरिएको थियो। रविविरुद्ध यसअघि प्रहरीले यही कसुरमा अनुसन्धान गरेको थियो।

यसअघि राहदानी दुरुपयोसम्बन्धी मुद्दा प्रहरी र सरकारी वकिल कार्यालयले नचलाउने निर्णय गरेका थिए। मुद्दा नचलाउने निर्णयविरुद्ध सफलले महान्यायाधिवक्ताको कार्यालयलाईसमेत विपक्षी बनाएर रिट हालेका थिए। रवि लामिछाने २०७० फागुन ९ मा अमेरिकी नागरिक भएका थिए। अमेरिकी राहदानी रहेका र अमेरिकी नागरिक हुँदा हुँदै नेपाली राहदानी २०७२ जेठ १३ गते लिएका थिए।

उक्त प्रकरणमा रविलाई कारबाही गरी पाउन मागसहित सफलले गत माघ १७ मा जाहेरी दिएका थिए। लामिछानेले पनि नेपाली नागरिकता लिएको बयानका क्रममा स्वीकार गरेका थिए। नेपालमा दोहोरो नागरिकताको प्रणाली नभएको र विदेशको नागरिकता प्राप्त गरेपश्चात् नेपाली नागरिक कायम नहुने व्याख्या भएको निवेदनमा उल्लेख थियो।

गत मंसिरको चुनावमा चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भई गृहमन्त्रीसमेत बनेका लामिछानेको पद नागरिकता मुद्दाका कारण गुमेको थियो। त्यसपछि नागरिकता लिई पुनः उम्मेदवारी दिएका बेला लामिछानेविरुद्धको राहदानी दुरुपयोगमा कारबाही माग गर्दै सर्वोच्चमा मुद्दा परेको हो।

 

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ११ : २४ बजे