Logo

खेलकुद

लुका सकर विराट गोल्डकपको फाइनलमा



काठमाडौं । साबिक विजेता सशस्त्र प्रहरीको एपीएफलाई हराउँदै भारतीय टोली लुका सकर क्लब सातौँ संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद रंगशालामा बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा एपीएफलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराउँदै लुका सकर फाइनलमा प्रवेश गरेको हो ।

उपाधिका लागि अब लुका सकरले घरेलु टिम विराटनगर सिटी एफसीसँग भिड्नुपर्नेछ । निर्धारित ९० र अतिरिक्त थप गरिएको ३० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।

पेनाल्टीमा सशस्त्रका दीपेश धिमाल र सविन गुरुङले गोल गर्दा विशाल सत्याङ र गोलकिपर राजु नगरकोटी गोल गर्नबाट चुके । विशालले प्रहार गरेको बल लुका सकरका गोलकिपर सानफिरले उत्कृष्ट बचाउ गरेका थिए भने नगरकोटीको प्रहार पोलमा लागेर बाहिरिएको थियो ।

लुका सकरका लागि चाक्लेस, मोहोमद रफी, मो. आरसानो र पउल ओपारेले गोल गरे । एपीएफका किपर राजु नगरकोटीले लुका सकरका क्याम्भो हिनले प्रहार गरेको बल बचाए पनि हारबाट जोगाउन सकेनन् ।

खेलको म्यान अफ द म्याच लुका सकरका गोलकिपर सानफिर भए। उनले ११ हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगिताको उपाधिका लागि लुका सकरले घरेलु टोली विराटनगरसँगै बिहीबार खेल्ने छ ।

उपाधि विजेताले २० लाख १५ हजार र उपविजेताले १० लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । यसैगरी विधागततर्फ उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ पाउनेछ ।

 

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ७ : ४० बजे