Logo

समाचार

निङ्गलाशैनी मन्दिर परिसरमा हिङ्लो ठड्याइयो



बैतडी । बैतडीको देहिमाण्डौंस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरको प्राङ्‍गणमा आज नवरात्र घटस्थापनाको दिन हिङ्लो ठड्याइएको छ। चैते नवरात्रको घटस्थापनाका दिन हिङ्लो ठड्याइएको निर्माण समितिका संयोजक प्रकाश बोहराले बताए। निङ्गलाशैनी भगवती मन्दिरमा रहेको पुरानो हिङ्लो जीर्ण भएपछि नयाँ हिङलो राखिएको उनको भनाइ छ। परापूर्व कालमा दार्चुलाको लालीबाट सालको काठ ल्याएर मन्दिरमा हिङ्लो राख्ने चलन रहिआएको भए पनि अहिलेको समयमा दार्चुलाको लालीबाट सालको काठ ल्याउन सम्भव नभएपछि स्थानीय युवाको सक्रियतामा देवदारको हिङलो निर्माण गरेर ठड्याइएको भण्डारे बोहराले जानकारी दिए।

निङ्गलाशैनी भगवती धार्मिक वनबाट देवदारको रुख काटेर नयाँ हिङ्लो निर्माण गरिएको उनको भनाइ छ। पिङ अर्थात हिङ्लोमा भगवतीको सवारी हुने जनविश्वास रही आएको छ। मन्दिरमा गएको ६/७ वर्ष यता हिङ्लो नभएकाले हिङ्लो ठड्याइएको मन्दिरका भण्डारे चक्रबहादुर बोहराले बताए। निङ्गलाशैनी भगवती मन्दिरमा परापूर्वकालदेखि नै हिङलो राख्ने चलन रहिआएको मन्दिरका मुखिया मानबहादुर बोहराले बताए। मन्दिरको हिङ्लो नरहेकाले स्थानीय युवाहरूले समूह नै बनाएर पैसा उठाएको देहिमाण्डौंका स्थानीय प्रकाश बोहरा बताउँछन्। हामीले एउटा समूह निर्माण गरेर दक्षीणाको रुपमा हिङ्लो राख्नका लागि सहयोगको अपिल गरेका थियौं। त्यहिबाट उठेको पैसाले हिङ्लो राखेका हौं, उनले भने।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ५ : ५२ बजे