Logo

खेलकुद

प्रथम जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु



रोल्पा । प्रथम जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतबार देखि रोल्पाको सदरमुकाम लिबाङ्मा सुरु भएको छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्वबधान तथा राष्ट्रिय खेलकुद परिषदको संयोजकत्वमा जिल्ला खेलकुद विकास समिति रोल्पाको आयोजना र रोल्पा नगरपालिकाको व्यवस्थापनमा सुरु भएको हो । जिल्ला खेलकुद विकास समिति रोल्पाका अध्यक्ष मोलङ घर्ती मगरको अध्यक्षतामा भएको प्रथम जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ को लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री जोख बहादुर महराको प्रमुख आतिथ्यता र लुम्बिनी प्रदेशसभा सदस्य दिपेन्द्र कुमार पुनको विशिष्ट आतिथ्यतामा एक कार्यक्रमको बीच उद्घाटन गरिएको आयोजकले बताएको छ ।

प्रतियोगितामा रोल्पा जिल्ला भित्र रहेका १० वटा स्थानीय तहमा सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट उत्कृष्ट भएर पालिकाले छनोट गरि पठाएका खेलाडीहरूको सहभागी भएको बताइएको छ । साथै सहभागी स्थानीय तहहरु मध्ये जुन पालिकाले सबै भन्दा बढी पदक जित्ने स्थानीय तहले शिल्ड प्राप्त गर्ने समेत जनाइएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भित्र समावेश भएका पुरुष भलिबल, महिला भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो, कराँते र उँसु लगायतको प्रतियोगिता हुने समेत आयोजकले बताएको छ । जिल्लाबाट छनोट भएका खेलाडीहरु, प्रदेश सम्म र प्रदेशमा छनोट भएका खेलाडीहरु केन्द्र सम्म पुग्ने छन ।

जिल्ला खेलकुद विकास समिति रोल्पाका उपाध्यक्ष हेमन्त खत्रीको स्वागत मन्तव्य रहेको उद्घाटन कार्यक्रमको सञ्चालन जिल्ला खेलकुद विकास समिति रोल्पाका रेफ्री सोम बहादुर घर्ती मगरले गरेका थिए ।प्रथम जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन १४ गतेदेखि १७ गतेसम्म जारी रह्ने छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ८ : २० बजे