Logo

मधेश प्रदेश

आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ


४ फाल्गुन २०७९, बिहिबार  

0
Shares

बारा । आफ्नै आमाको हत्या गरेको आरोपमा निजगढ प्रहरीले रतनपुरबाट छोरालाई पक्राउ गरेको छ । निजगढ नगरपालिका-१२ बुङ्गजोरका ४३ वर्षीय सनी लामालाई ७१ वर्षीया आमा कान्छिमाया घलानको हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय निजगढले नियन्त्रणमा लिएको हो ।

कान्छिमायाको हत्यापछि गाउँ छोडेर भागेका सनीलाई प्रहरीले हेटौडा उपमहानगरपालिका(१ स्वर्गद्वारीस्थित आफन्तको घरबाट मंगलवार राति नियन्त्रणमा लिएको प्रहरी निरीक्षक संन्जिव ओलीले जानकारी दिए ।

३-४ दिनदेखि घरबाट बेपत्ता बनेकी कान्छिमायाको शव स्थानीयले मंगलबार दिउँसो घर नजिकैको बुङ्गजोर खोला छेउमा रुखको स्याउलाले छोपेको अवस्थामा फेला परेपछि प्रहरीमा खबर गरेका थिए । शंकास्पद अवस्थामा शव फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

घटनापछि छोरा सनी पनि गाउँबाट बेपत्ता बनेको र अनुसन्धानको क्रममा उनलाई नियन्त्रण लिएको प्रहरीले बताएको छ । सढेर कुहिएको अवस्थामा रहेको शवको प्रकृति हेर्दा ५/७ दिनअघि नै हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

पोष्टमार्टमको लागि शव प्रादेशिक अस्पताल कलैया पठाइएको र घटनाको थप अनुसन्धान भइरहको निरीक्षक ओलीले जानकारी दिए । पक्राउ परेका लामालाई प्रहरीले जिल्ला अदालत बारामा पेस गरेर अनुसन्धानको लागि म्याद लिएको छ ।

मृतक घलानको श्रीमानसहित २ छोरा छन् । श्रीमान र जेठो छोरा जिल्लाकै जीतपुरसिमरा उपमहानगरपालिका २ सिमरामा बस्न थालेपछि घलान कान्छो छोरा सनीसँग बस्दै आएकी थिइन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  १२ : ३० बजे