काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई जिल्ला अदालत कैलालीमा उपस्थित गराइने भएको छ । बिहीबार बाँकेबाट पक्राउ परेका सांसद चौधरीलाई काठमाडौंबाट धनगढी हुँदै कैलाली लगिएको थियो ।
अहिले उनी जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा छन् । ‘उहाँलाई अदालतको फैसला कार्यान्वयनका लागि आज अदालत लैजान्छौं,’ डिएसपी बेदप्रकाश जोशीले भने, ‘त्यसपछि आवश्यक प्रक्रिया अगाडि बढ्छ।’
१० वर्षअघि ट्याक्टर जलाएको मुद्दामा जिल्ला अदालत कैलालीले चौधरीलाई ६ महिना कैदको फैसला सुनाएको थियो ।
मुद्दा परेपछि फरार रहेका कारण उनलाई ६ महिना कैद तोकिएपनि कैद भुक्तान गर्नपर्ने भएको हो । सुरुमै म्याद गुजारेका कारण अदालतले चौधरीलाई पुनरावेदनको म्याद समेत दिएको थिएन ।
अब जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन गरेपनि सांसद चौधरी थुनामै बस्नुपर्नेछ । उनीहरुलाई बिगो ८ लाख १९ हजार ४ सय २३ रुपैंया भराउने फैसला भएको छ ।
अदालतको आदेशपछि उनलाई कुन कारागार लाने भन्ने टुंगो लाग्नेछ । चौधरीसहित पर्शुराम चौधरी र बिरबहादुर चौधरीविरुद्ध ०७० वैशाख ९ गते जनही ६ महिना कैद र उक्त बिगो भराउने फैसला भएको थियो ।
कैलाली–२ बाट प्रतिनिधिसभा निर्वाचित सांसद चौधरीले उक्त फैसला भुक्तान गरेका थिएनन् । पक्राउ परेसँगै उनी सांसदबाट पनि निलम्बनमा परेका छन् ।
२०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्याक्टर जलाएको आरोपमा २०६७ भदौ २ गते जिल्ला अदालत कैलालीमा महादेव बजगाईंले मुद्दा दायर गरेका थिए ।
बिरबहादुर एक हप्ताअघि पक्राउ परेका थिए ।
नागरिक उन्मुक्ति पार्टीले चौधरीको रिहाइको लागि २४ घण्टे अल्टिमेटम दिएको छ । यसअवधिमा चौधरी रिहाइ नभए आन्दोलन गर्ने उन्मुक्तिको चेतावनी छ ।
प्रतिक्रिया