Logo

कर्पोरेट

रोग लागेर केराको बोट सुक्न थालेपछि निजगढका किसान चिन्तित्



बारा । केराको बोट सुक्ने रोग लागेपछि निजगढ नगरपालिकाको सिंगौलका केरा खेती गर्ने कृषकहरु चिन्तित् बनेका छन । केराको पात पहेंलो हुने बोटसमेत सुकेर मर्न थालेपछि स्थानीय किसानहरुमा चिन्ता बढ्न थालेको हो ।

रोग लागेर बोट सुक्न थालेपछि भर्खर पसाएको केराको काइँयोमा समेत साना कोसा लाग्ने र नसप्रिने समस्या देखिएको किसानहरुले बताएका छन । यो रोग पहिलेदेखि केरा खेती गरिएको जमिनमा कम देखिएको भए पनि नयाँ खेतीमा भने प्रकोपको रुपमा देखा परेको किसानहरुले बताएका छन ।

रोग लागेर केरामा क्षति भए पनि लगानीसमेत नउठ्ने देखेर किसानहरु चिन्तित् बनेका छन् । परमपरागत खेती गर्दै आएका सिंगौलका अधिकांस किसानहरु केही वर्षदेखि केरा खेतीतर्फ आकर्षित बनेका थिए ।

सिंगौलमा हाल ८५ प्रतिशत किसानले केरा खेती गर्दै आएका छन । केही किसानहरुले भने अर्का जमिन भाडामा लिएर पनि केरा खेती गर्दै आएका छन् । उनीहरुले प्रतिकठ्ठा ५ देखि ७ हजारसम्म बार्षिक रकम तिरेर खेती गर्दैआएको स्थानीय रामबाबु बुढाथोकीले बताए ।

केरा बिक्रीबाट सिंगौलमा मात्रै बार्षिक २ करोडभन्दा बढी रुपैयाँ भित्रिने गरेको तर रोगले मर्न थालेपछि किसानलाई ठूलो क्षति हुने देखिएको अर्का स्थानीय किसान कमल गुरागाईंले बताए । उनका अनुसार निजगढ नगरपालिका कार्यालयमा केरा विशेषज्ञ नहुँदा किसानले थप समस्या बेहोर्नुपरेको परेको छ ।

कृषि ज्ञान केन्द्र निजगढले निजगढ नगरपालिकाको निजगढ र सिंगौलको केही भागमा केरा पकेट क्षेत्र घोषणा गरेको भएपनि कार्यालयले केरा किसानलाई खासै सहयोग गर्न नसकेको किसानहरुले गुनासो गर्दै आएका छन् ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  ११ : ५७ बजे