Logo

कला/साहित्य

तिलकसिंह पेलाको ‘के लत बस्यो मलाई’ सामाजिक सञ्जालमा भाइरल



काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा ‘के लत बस्यो मलाई कहिले सुधार हुन्छ ?,एकदिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ’ यो गजल गीत भाइरल छ । सामाजिक सञ्जाल फेसबुकदेखि टिकटक लगायत सबै तिर प्राथमिकतामा परिरहेको गीत शास्त्रीय सङ्गीतमा तयार छ । ६ दिन अगाडि तिलकसिंह पेला नामक युट्युब च्यानलबाट अपलोड भएको गजलले समाचार तयार गर्दासम्म ७ लाख बढी भ्युज पाइसकेको छ । गजलका गायक हुन् तिलकसिंह पेला ।

छोटो समयमा लाखौं मानिसको मन जित्न सफल गजलको भिडियो पनि बनेको छ । तर भिडियो कुनै तडकभडक तरिकाले, महँगा मोडल राखेर आकर्षक लोकेसनमा छायाङ्कन भएका छैनन् । गीतको भ्युज युट्युबमा हरेक क्षेत्र बढ्दो छ । भिडियोमा गायक पेला स्टुडियोको गायक अगाडि उभिएर मात्र गजल गाएका छन् ।

गजलले भिउज पाएको मात्र होइन, शब्द र गायक पेलाको गायन शैलीलाई समेत सबैले तारिफ गरेका छन् । लोक, आधुनिक लगायत संगीतको बचश्र्व रहेको वर्तमान समयमा शास्त्रीय सङ्गीतमा तयार यो गजलले पाएको चर्चा देख्दा साङ्गीतिक क्षेत्रमा सबै चकित छन् । गीतको शब्द डा. प्रदीपकुमार मैनालीले कोरेका हुन्, भने सङ्गीत गायक पेलाकै छ ।

गजलको स्थायी मात्र होइन, सबै अन्तरामा समेत शब्द राम्रा छन् । गजलले निकै मार्मिक तथा जिवन्त भन्दै चारैतिरबाट तारिफ पाइरहेको छ । गजलका एरेन्जर तथा रेकर्डिस्ट रिदम कँडेल हुन् ।

सुदूरपश्चिमको बैतडीको दशरथचन्द नगरपालिकाका गायक पेला लामो समयदेखि शास्त्रीय सङ्गीतमा क्रियाशील छन् ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ९ : २८ बजे