Logo

Breaking News 1

युद्धमोर्चामा खारीएका तीन योद्धा संघिय मन्त्रालयको कुर्सीमा



काठमाडौं । नेकपा माओबादी केन्द्रबाट रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री बनेकी छन् । उनले मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारमा पुगेर उनले पदभार ग्रहण गरेकी हुन् ।

नेकपा (माओवादी केन्द्र)को स्थायी समिति सदस्य शर्माले गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) का महासचिव शङ्कर पोख्रेललाई पराजित गर्दै विजयी भएकी थिइन् ।

विसं २०७० र २०७४ मा प्रतिनिधिसभामा समानुपातिक सदस्यका रुपमा निर्वाचित भएकी उनी २०७२ साल कात्तिकदेखि २०७३ कात्तिकसम्म सामान्य प्रशासनमन्त्रीको जिम्मेवारीमा रहेकी थिइन् ।

विसं २०२६ असोज ९ गते घोराहीको मसिनामा बुबा गिरिराज शर्मा र आमा पार्वती शर्मा पौड्यालको कोखबाट जन्मिएकी उनले २०४२ सालदेखि राजनीतिक यात्रा सुरु गरेकी थिइन् । विसं ०४२/४३ देखि अनेरास्ववियुको स्कुल इकाइ कमिटीबाट विद्यार्थी राजनीति होमिएकी उनी अखिलको जिल्ला उपाध्यक्ष, २०४८ सालमा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)को दाङ अध्यक्ष, २०५० मा केन्द्रीय सदस्य, २०५१ मा वाइसिएलको केन्द्रीय सदस्य, २०५३ सालदेखि २०५७ सालसम्म अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)को केन्द्रीय अध्यक्ष भएकी थिइन् ।

विसं २०५७ मा नेकपा (माओवादी)को केन्द्रीय सदस्य बनेकी उनले काठमाडौं उपत्यका उपब्यूरोको इन्चार्जको भूमिका निर्वाह गरिन् । विसं २०५८ चैतमा पार्टीका केन्द्रीय सदस्य तथा श्रीमान् कृष्णध्वज खड्कासँगै चाबहिलबाट पक्राउ परी नेपाली सेनाको ललितपुरस्थित राजदल गण र पोखराको सैनिक ब्यारेकमा बसकी थिइन् ।

युद्धविराम भएर सरकार र माओवादीबीच वार्ता सुरु भएपछि २०५९ साल चैत ३१ मा दुवै जना मुक्त हुँदै पार्टीमा क्रियाशील भइन् । विसं २०७० र २०७४ मा संसदीय दलको सचेतकको जिम्मेवारी निर्वाह गरेकी शर्मा माओवादीभित्र स्थापित नेत्रीसमेत हुन् ।

मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रबाट प्रत्यक्षतर्फ निर्वाचित हुने शर्मा एक्लै महिला हुन् । आफूलाई सामाजिक न्याय र समानताको पक्षधरका रुपमा परिचित गराउन चाहने मन्त्री शर्मा कृषि र अर्थतन्त्रको विषयमा पनि रुचि राख्छिन् । पार्टीको विद्यार्थी, युवा र महिला सङ्गठनमा लामो समय बिताएकी शर्माले राज्यबाट संविधानसभा पदक प्राप्त गरेकी छिन् । समाजशास्त्रमा स्नातकोत्तर गरेकी शर्माको स्थायी ठेगाना घोराही उपमहानगरपालिका–१८ दाङ हो ।

अमनलाल मोदी: पारिवारिक अभाव र संकटसँग जुध्दाजुध्दै राजनीतिक यात्रा सुरु गरेका अमनलाल मोदी तेस्रोपटकको संसद यात्रामा मन्त्री बन्न सफल भएका छन् । थारु समुदायका मोदीले मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । उनले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा मन्त्री बन्ने अवसर पाएका हुन् ।

नेकपा (माओवादी केन्द्र)मा आवद्ध भई आफ्नो राजनीतिक जीवनलाई अगाडि बढाएर संघर्ष गरिरहेका उनै ३७ बर्से अमनलाल माओवादी मोरङको बूढीगंगा गाउँपालिका–६ का बासिन्दा हुन् । तेस्रोपटक सांसद बनिसकेका उनी २०७० सालको दोस्रो संविधानसभा निर्वाचनयता लगातार संसदमा प्रतिनिधित्व गरिरहेका छन् । दोस्रो संविधानसभाबाट समानुपातिक सांसद भएका थिए । २८ वर्षको उमेरमा संविधानसभा सदस्य बनेका उनी हाल माओवादीका कान्छा सांसद पनि हुन् । एकपटक समानुपातिक सांसद बनेका उनीसँग दुईपटक प्रत्यक्ष निर्वाचन जितेको अनुभव छ ।

उनी गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा उनी निर्वाचित भए । उनले कांग्रेस नेतृत्वको तत्कालीन सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेर एमालेमा विनोद ढकाललाई ६ हजार १४९ मतान्तरले हराएका थिए । अमनलाल ३० हजार ६१२ मत ल्याएर तेस्रोपटक सांसद हुँदा विनोद २४ हजार ४६३ मतमा सीमित भएका थिए ।

स्व: पवनलाल र बालोदेवी मोदीका छोरा उनी थारु बाहुल्य क्षेत्रबाट लगातार चुनाव जित्दै अहिले एमाले सम्मिलित सरकारको मन्त्री भएका छन् । परिवारका ७ सन्तानमध्ये अमनलाल कान्छा हुन् । पारिवारिक आर्थिक अवस्था कमजोर रहेका उनले बिहान बेलुका फ्याक्ट्रीमा काम गरेर एसएलसीसम्मको पढाई पूरा गरेका थिए ।

उनी ७ वर्षको हुँदा बुवा पवनलालको मृत्यु भयो । पारिवारिक विपन्नतामाथि घरको मूल अभिभावक गुमाउँदा उनलाई पठनपाठन अगाडि बढाउन समस्या पर्‍यो । परिवारमा बिहानबेलुकाको छाक टार्नै धौधौ हुँदा फ्याक्ट्रीमा काम गर्दै पढाइ अगाडि बढाउनुपर्ने बाध्यता आइलाग्यो । सन्तान हुर्काउन आमा बालोदेवीले मजदुरी गरिन् । हाटबजारमा आलुचप र भुजा बेचिन् । बुढेशकालले थलिँदै गएर शारीरिक अवस्था कमजोर बनेपछि १ वर्षअघिबाट उनले आलुचप र भुजाको व्यापार छाडेकी छन् ।

क्याम्पसको पढाई सुरु गरेपछि पैसा अभाव भएसँगै खर्च जुटाउन आफूले होटलमा ‘वेटर’ र ‘क्लिनर’को कामसमेत गरेको अमनलाल बताउँछन् । कक्षा ९ मा पढ्दादेखि नै माओवादीमा जोडिएका उनी २०५६ सालबाट अखिल क्रान्तिकारीमा आवद्ध भएका थिए ।

विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा आईए पढ्न सुरु गरेपछि राजनीतिक सक्रियता बढाए । अखिल क्रान्तिकारीमा आवद्ध भई माओवादीको राजनीति गर्दागर्दै २०६० सालमा पक्राउ परेर २ वर्ष ३ महिना जेलमा बिताए । हिरासत र कारागारमा रहँदा चरम शारीरिक तथा मानसिक यातना खेप्न बाध्य भएको उनी बताउँछन् ।

कारागारमुक्त भएपछि उनले माओवादीमै रहेर पुन: राजनीति गरे। मोरङलाई कर्मथलो बनाएर अमनलालले राजनीतिक जीवनलाई अगाडि बढाइरहेका छन् । विद्यार्थी राजनीतिमा अखिल क्रान्तिकारीको मोरङ सदस्य हुँदै जिल्ला अध्यक्ष भएका थिए ।

पार्टीमा तत्कालीन माओवादीको जिल्ला कमिटी सदस्य हुँदै राज्य कमिटी सदस्य बनेका अमनलाल एमाले र माओवादीबीच पार्टी एकता भएर बनेको नेकपाको प्रदेश १ कमिटीका सदस्य थिए । माओवादीको आठौं महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बनेका हुन् ।

सुदन किराँती: नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य सुदन किराँती मुलुकको ४०औँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन् । विसं २०३५ मा भोजपुरको अ‍ेख्रेमा बुबा हर्कबहादुर राई र आमा रक्षा कुमारीको कोखबाट जन्मिएका राई भोजपुरबाट तीन पटक (विसं २०६४, २०७४ र २०७९) मा सांसद बनेका थिए ।

भूइँमान्छेको पहिचान बनाएका राई स्थानीय परिभेषमा घुलमिल हुने र जनताको सुख दु:खमा साथसाथै रहने कार्यशैलीले उनी जनतामाझ स्थापित छन् । सिधा र स्पष्ट कुरा राख्ने किराँती राजनीतिमा पनि निकै काबिल छन् । राजनीतिक यात्रामा पदीय जिम्मेवारीको इमान्दारिता, संसदीय यात्रामा जनताको जिम्मेवारीतालाई कुशलतापूर्वक भूमिका निर्वाह गरेका किराँती जनजाति सांसदमा बेग्ले लवज र जनतासँग घुलमिल भएर जीवन्त अभ्यासले उनको राजनीतिक यात्रालाई ओझिलो बनायो ।

पार्टीमा राम्रो प्रभाव राख्ने नेता भएकाले पनि सुदन किराँती अघिल्लो पटक नै मन्त्री बन्ने चर्चा थियो । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा भोजपुरबाट प्रतिनिधिसभाका लागि निर्वाचित भएछि किराँतीको झनै चर्चा भयो ।

गत पुस १० मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठनभएपछि तत्कालीन पर्यटनमन्त्री जीवनराम श्रेष्ठ ३९औँ पर्यटनमन्त्रीका रुपमा एक सय ८३ दिन काम गरेर बिदा भएका थिए ।

पर्यटनमन्त्रीका रुपमा मन्त्री किराँतीलाई कोभिड–१९ (कोरोना भाइरस) महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउनेदेखि पर्यटन तथा हवाई पूर्वाधार र सेवा सुदृढीकरणका लागि नीतिगत सुधार र रणनीतिक कार्ययोजना बनाउने जिम्मेवारी छ । भ्रमण दशकको प्रभावकारी कार्यान्वयनदेखि पर्यटन क्षेत्रको नीतिगत सुधार गरेर आर्थिक समृद्धिको आधारमध्येको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनसम्बन्धी किराँतीको मुख्य जिम्मेवारी हुनेछ ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ८ : २७ बजे