Logo

समाचार

दमकको नमुना बजारमा आगलागी



दमक । झापाको दमक–६ स्थित नमुना बजारमा रहेका नौ पसलमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ।

वडाध्यक्ष टेकबहादुर थापाका अनुसार आज बिहान करिब २ बजेतिर अचानक आगलागी हुँदा पसलका सम्पूर्ण सामान जलेर नष्ट भएका हुन्। मुख्य बजारका ती ठाउँमा जुत्ता तथा कपडाका पसल थिए।

आगलागीबाट जुत्ता–चप्पल व्यवसायी राज श्रेष्ठको पसलसहित नौ पसलका सम्पूर्ण सामान नष्ट भएको उनले बताए। आगलागी कसरी भयो, कारण खुल्न सकेको छैन।

आगलागी विद्युत् सर्ट भई लागेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप गिरीले बताए। क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको उनले जानकारी दिए।

आगलागी दमकसहित कमल, गौरादह, कानेपोखरीलगायतका वारुणयन्त्र, प्रहरी तथा स्थानीयको प्रयासमा करिब तीन घण्टापछि नियन्त्रणमा आएको थियो।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ९ : ५३ बजे