Logo

खेलकुद

नेपाल टी २० लिगः उपाधिका लागि लुम्बिनी र विराटनगर भिड्दै



काठमाडौं । नेपाल टी २० लिगको उपाधिका लागि लुम्बिनी अल स्टार्स र विराटनगर सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो खेलबाटै उच्च लयमा देखिएको लुम्बिनीलाई उपाधि दाबेदारको रुपमा हेरिएको छ । खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा मध्यान्ह १२ बजे सुरु हुनेछ ।

लुम्बिनीले समूह चरणका १० मध्ये आठ खेल जित्दै शीर्ष टोलीको रुपमा क्वालिफायरमा स्थान बनाएको थियो । क्वालिफायरमा लुम्बिनीले जनकपुर रोयल्सलाई हराएको थियो ।

समूह चरणमा यी दुई टोलीबीच भएको दुई भेटमा लुम्बिनीले जित निकालेको छ । पहिलो भेटमा लुम्बिनीले विराटनगरमाथि तीन रनको रोमाञ्चक जित निकालेको थियो । दोस्रो खेलमा पनि लुम्बिनीले विराटनगरलाई १२ रनले पराजित गरेको हो ।

लिग चरणमा तेस्रो स्थानमा रहँदै इलिमिनेटरमा छनोट भएको विराटनगरले मंगलबार जनकपुरलाई हराउदै लुम्बिनीसँगको भेट पक्का गरेको हो । विराटनगरका लागि कप्तान रोहित पौडेल र हुसेन टलट उत्कृष्ट लयमा रहेका छन ।

यता लुम्बिनीका श्रीलंकन लाहेरु मिलान्था पनि उत्कृष्ट लयमा रहेका छन् । उनले ३ सय ८ रन जोडेका छन । कप्तान दिपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शन पनि लुम्बिनीको उपाधि लक्ष्यमा महत्वपूर्ण बन्न सक्छ ।

काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फार वेस्ट युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टारगरी ६ टोलीको सहभागी प्रतियोगितामा थियो ।

विजेताले ५५ लाख पाउने छ भने उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्नेछ । यसैगरी तेस्रो हुनेले १० लाख र चौंथोले ५ लाख पाउने छ ।

यस्तै, प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छन् ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  १० : ५६ बजे