Logo

Breaking News 1

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय आज सकिँदै



काठमाडौं । सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले सरकार गठनका लागि दलहरुलाई दाबी गर्न दिएको एक साताको समय सीमा आज (बुधबार) ५ बजे सकिँदै छ । सोही समय सीमाभित्र सुदूरपश्चिमले आजै दोस्रो मुख्यमन्त्री पाउनेछ । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्रसिंह रावलले दाबी पेस गर्ने अन्तिम तयारी गरेका छन् ।

एमाले र माओवादी केन्द्रबीच सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ । पहिलो चरणमा प्रदेश सरकारको नेतृत्व एमाले पाएको छ । एमालेका तर्फबाट संसदीय दलका नेतासमेत रहेका राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन् ।

‘सत्ता साझोदार दलका संसदीय दलका नेता काठमाडौंमा छन्, उहाँहरु पुगेपछि हस्ताक्षरसहित दिउँसो मुख्यमन्त्रीमा दाबी पेस गर्छौं’, नेकपा एमालेका एक सांसदले भने ।

रावललाई माओवादी, नागरिक उन्मुक्ति र राप्रपाको समर्थन छ । ५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा नेकपा माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका एक सांसद छन् ।

यहाँ सरकार गठनका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ। एमाले नेतृत्वमा बन्ने प्रदेश सरकारका पक्षमा माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपाका गरी २९ सांसद छन् ।

यसअघि नागरिक उन्मुक्ति पार्टी टीकापुर घटनामा दोषी ठहर भई डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका रेशम चौधरीलगायत कैदी रिहाइ नहुञ्जेल कुनै राजनीतिक दललाई समर्थन नगर्ने अडानमा थियो ।

मंगलबार केन्द्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० नेतृत्वको सरकारलाई विश्वासको मत दिएसँगै नागरिक उन्मुक्ति प्रदेशमा पनि एमाले नेतृत्वको गठबन्धनलाई समर्थन गर्ने अवस्थामा पुगेको हो ।

नागरिक उन्मुक्ति पार्टीले समर्थन गरे पनि माग सम्बोधन नहुञ्जेल सरकारमा नजाने जनाएको छ ।

सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँग १९, नेकपा एकीकृत समाजवादीसँग ४ र एक जना स्वतन्त्र हैसियतका सांसद प्रदेश सभामा रहेका छन् ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ८ : ४३ बजे