Logo

विश्व

मस्कोबाट गोवाका लागि उडेको विमानमा बम राखिएको हल्लापछि गुजरात डाइभर्ट



गोवा । मस्कोबाट गोवाका लागि २२४ यात्रु सवार चार्टर्ड उडान गुजरातको जामनगरमा डाइभर्ट गरिएको छ । गोवा एयर ट्राफिक कन्ट्रोलरले विमानभित्र बमको धम्की पाएपछि विमान डाइभर्ट गरिएको  अधिकारीहरूले बताए ।

‘सबै यात्रु र चालक दलका सदस्य (८) लाई सकुशल बाहिर निकालिएको छ र स्थानीय अधिकारी, प्रहरी र बम डिस्पोजल टोलीले विमानको जाँच गरिरहेको छ’, प्रहरी महानिरीक्षक अशोककुमार यादवले भने ।

जामनगर विमानस्थलका अधिकारीहरूका अनुसार विमानलाई एकान्तमा अवतरण गरिएको थियो ।

‘मस्कोबाट गोवा जाँदै गरेको अजुर एयरको उडानमा कथित बम राखिएको भन्ने बारेमा भारतीय अधिकारीहरूले दूतावासलाई सचेत गराएको थियो। विमानले जामनगर भारतीय वायुसेना बेसमा आपतकालीन अवतरण गरेको छ । जहाजमा रहेका सबै सुरक्षित छन्।’ रुसी दूतावासले एक विज्ञप्तिमा भनेको छ ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ८ : २० बजे