Logo

समाचार

रोल्पाका ग्रामीण सडकमा बस पुर्‍याउने होडबाजी



रोल्पा । यतिबेला रोल्पाका ग्रामीण सडकमा ठूला यातायात पुर्‍याउन होडबाजी चलिरहेको छ । यो हप्ता मात्र माडी गाउँपालिका वडा नं.३ तालाबाङको ढनठाना हिलेमा पहिलो पटक बस पुगेको पुग्यो । दाङको तुल्सीपुर देखि पहिलोपटक पुष १३ गते बुधबारका दिन त्रिद्धेश्वरी राप्ती यातायात प्रालिको रा १ ख १९१२ नम्बरको बस पुगेको थियो । सोही धनथान हिलेका नागरिकको सेवा सहजताका लागि घर्तिगाउँ, तालाबाङ हुँदै दाङ घोराहीका लागि फेरि पनि पुष १५ गते शुक्रबारका दिन रोल्पा जलजला यातायात प्रालिको ना ५ ख २७८६ नम्बरको बस पुगेको छ ।

त्रिद्धेश्वरी राप्ती यातायात प्रालिले रोल्पाको माडी गाउँपालिका वडा नं.३ को धनथान हिले हुँदै गंगादेव गाउँपालिका वडा नं.७ जायचौर गरी दाङको तुल्सीपुर सम्मको यातायात सेवा प्रदान गर्नेछ भने रोल्पा जलजला यातायात प्रालिले पनि माडी गाउँपालिका वडा नं.३ को ढनठाना हिले हुँदै तालाबाङ, घर्तीगाउँ हुँदै दाङको घोराही सम्मको सेवा प्रदान गर्नेछ । त्रिद्धेश्वरी राप्ती यातायात प्रालिका बस धनी टंक बहादुर वली हुन भने रोल्पा जलजला यातायात प्रालिका बस धनी केवल बाँठा मगर हुन । अहिले यसरी आकलन गर्दा गाउँका ग्रामीण सडकमा यातायात सञ्चालन गर्नका लागि होडबाजी चलेको देखिन्छ ।एकातिर बस गाउँ पुग्नु खुसीको कुरा भएको मान्न सकिन्छ भने अर्को तिर नागरिकको जनजीवन सँग पनि जोडिएर ध्यान दिनुपर्ने देखिन्छ । अहिले ग्रामीण सडकको अवस्था हेर्दा साँघुरा र घुम्टीका ट्रनिङ नपुग्ने अवस्थामा रहेका छन् र स्तर उन्नति नभए सम्म ग्रामीण सडकमा ठुला यातायात चल्न मुश्किल हुने देखिन्छ।त्यतिमात्र नभएर यात्रुको जीवनलाई मध्यनजर गरेरमात्र यातायात सञ्चालन गर्नु अहिलेको आवश्यकता देखिन्छ ।

यो विषयमा स्थानीय सरकार र अहिलेको जनप्रतिनिधिले पनि ध्यान दिनु अहिले आवश्यकता हो । समन्वय,सहकार्य गरेर प्रालिले आफ्नो सेवा विस्तार गर्नु अहिलेको आवश्यकता रहेको माडी गाउँपालिका–३ का वडा अध्यक्ष बल बहादुर बुढा मगरले बताए । उनले भने ‘मेरो वडामा दुई ठाउँ बाट यातायात सेवा प्रदान भएको छ र अब दुबै ठाउँका नागरिकलाई यात्रा गर्न सहज हुनेछ ।’ बुढा मगरले फेरि थप्दै भने ‘सेवा प्रदान हुनु आफैमा राम्रो पक्ष भएको र नागरिकको जीवनलाई ध्यान दिएर बस धनी तथा चालकले यातायात सञ्चालन गर्नुपर्ने हुन्छ ।’ अहिलेको माग अनुसार हेर्ने हो भने ग्रामीण सडकमा यातायात मात्र चलाउछु भन्नु भन्दा पनि यात्रा गर्ने यात्रुको ख्याल गरेरमात्र यातायात सञ्चालन गर्न सकेमात्र प्रालि सफल भएको मान्न सकिन्छ । ग्रामीण सडकमा यातायात सञ्चालन गर्न होडबाजी गर्नु भन्दा पनि यात्रुको जीवनलाई ध्यान दिनु अहिलेको समय र परिस्थितिको माग रहेको छ ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  १ : ३१ बजे