Logo

समाचार

रोल्पाको परिवर्तन गाउँपालिका र माडी गाउँपालिकाका सुन्तलाले पाएनन् उचित मुल्य



रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिका र माडी गाउँपालिकाका सुन्तलाले उचित मुल्य नपाएको किसानहरुले बताएका छन । परिवर्तन गाउँपालिका र माडी गाउँपालिकामा सुन्तला राम्रो उत्पादन हुने त्यहाँका किसानले जानकारी दिए । माडी गाउँपालिकाको वडा नं.१ओत,२घर्तीगाउँ,३ तालाबाङ,५भाबाङ र ६ कोर्चाबाङ लगायतका केही गाउँ ठाउँमा सुन्तला उत्पादन राम्रो हुने बताइएको छ । त्यस्तै परिवर्तन गाउँपालिकाको वडा नं.२ राङ्सी,३ थुनिकोट,४ पाछाबाङ,५ राङ्कोट र ६ इरिबाङ लगायतका केही गाउँ ठाउँमा सुन्तला उत्पादन हुने त्यहाँका स्थानीयले बताएका छन् ।

किसान सुन्तला बिक्री गर्नका लागि एक दुई घण्टा पैदल हिडेर मुख्य बजारहरुमा पुग्ने गर्दछन । माडी गाउँपालिका २ को घर्तीगाउँ बजार र ६ को हान्निङ्मा सुन्तला बिक्री गर्ने गरेको पाउन सकिन्छ भने परिवर्तन गाउँपालिका ३ बागमारा बजारमा समेत सुन्तला बिक्री गर्ने गरेको पाइन्छ ।साथै सडकका छेउछाउ, मेला, सार्वजनिक स्थल र पुँजापाठमा समेत सुन्तला बिक्री गर्न लैजाने गरेको समेत बताइएको छ । परिवर्तन गाउँपालिका-६ ओहका किसान बिरेन्द्र बुढा मगरले पुष ४ गते घरबाटै ४० रुपियाँ किलोका दरले करिब ढाई क्वइन्टल दाङ घोराही पठाइएको बताए । गाउँमा सुन्तलाले उचित मुल्य नपाउदा जिल्ला बाहिर पठाएको बुढा मगरको भनाइ रहेको छ । सोही गाउँका अर्का किसान अर्जुन बुढा मगरको समेत त्यस्तै दुखेसो रहेको छ । बुढा मगरले भन्छन्-‘मैले अहिले घरबाटै ५० रुपियाँ किलो बिक्री गरिरहेको छु ।’ सुन्तलाको मुल्य नमिल्दा घरमै राखिरहेको उनले बताए । आफ्नो सुन्तला बगैंचामा करिब १० क्वइन्टल बराबर सुन्तला रहेको उनको भनाइ छ ।

त्यस्तै गरी सोही गाउँका अर्का सुन्तला किसान उमेश पुनमगरले पनि पुष ४ गते ४० रुपियाँ किलोमा सुन्तला बिक्री गरेको बताए । पुनले साढे ४ क्वइन्टल सुन्तला दाङ घोराही पठाएको समेत बताए । उनलेे सुन्तला खेतिमा धेरै दु:ख भएको बताउदै, सानामा विरुवा हुर्काउन, गोड्मेल गर्न देखि लिएर गर्मीको समयमा अनिवार्य सुन्तलाका बोटमा पानी सिचाँई गर्ने गरी हुर्काउने गरेको बताए । जब फूल खेल्न थाल्छ जब हेरचाह देखि औषधि छर्किनु पर्ने रअशिना पानी बाट जोगाई हुर्काएको सुन्तलाले सोचे जस्तो मुल्य नपाउनु आफू जस्तै अरु किसानहरुको पनि समस्या रहेको पुनमगरको भनाइ रहेको छ। सुन्तला उत्पादनमा स्थानीय सरकारले कुनै चासो नदिएको समेत किसानहरुको गुनासो रहेको छ । नत स्थानीय सरकारलेनै बजारको ग्यारेन्टी लिन सक्छ नत किसानले उत्पादन गरेको वस्तुले नै मुल्य नपाउने अर्को समस्या रहेकोे छ । परिवर्तन गाउँपालिकाले बिक्री नभएको सुन्तला गाउँपालिकाले खरिद गर्ने कुरा भयता पनि अहिलेसम्म कुनै चासो नदिएको परिवर्तन गाउँपालिका किसानको भनाइ रहेको छ । उत्पादन वस्तुको निर्यातमा स्थानीय सरकारहरुले ठोस नीति, नियम नबनाउदाले पनि स्थानीय स्तरमा उत्पादित वस्तुले उचित मुल्य नपाउने अर्को बेदमबना रहेको छ । किसानले दुख कष्ट गरि उत्पादन गरेको वस्तुले उचित मुल्य र निर्यातमा ध्यानदिनु अहिलेको स्थानीय सरकारको दायित्व र भूमिका रहेको छ ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ७ : २८ बजे