Logo

प्रदेश

कांग्रेस मधेश प्रदेश संसदीय दलको नेताको चयन गर्न निर्वाचन समिति गठन



काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेशको संसदीय दलको नेताको चयन गर्न निर्वाचन समिति गठन गरेको छ ।

बिहीबार जनकपुरमा बसेको कांग्रेस मधेश प्रदेश समितिको बैठकले दलको नेता चयन गर्न प्रदेश उपसभापति चन्द्रशेखरकुमार यादवको संयोजकत्वमा तीन सदस्य निर्वाचन समिति गठन गरेको हो । समितिको सदस्यद्वयमा महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ र सहमहामन्त्री विन्दु कुमारी यादव रहेको कांग्रेसका मधेश प्रचारप्रसार प्रमुख नितेश गुप्ताले जानकारी दिए ।

कांग्रेसको विधान नियमावली र प्रदेश संसदीय दलको विधानको धारा ५ को ३ अनुसार निर्वाचन समिति गठन गरेको हो । निर्वाचन समितिले केहीदिन भित्रै सर्वसहमतिबाट दलको नेता चयन पहल थालिने र नभए अन्तमा निर्वाचन प्रक्रिया अपनाउने प्रवक्ता गुप्ताले बताए ।

दलको नेताको लागि कांग्रेसका प्रदेशसभापति समेत रहेका प्रदेश सांसद कृष्णप्रसाद यादव, निवर्तमान संसदीय दलका नेता रामसरोज यादव, निवर्तमान महिला बालबालिका युवा तथा खेलकुद मन्त्री विरेन्द्र सिंह र जनार्दन क्षेत्री दाबेदार छन् ।

यस्तै बैठकले मधेश प्रदेशमा कांग्रेसको नेतृत्वमा प्रदेश सरकार गठन गर्नका लागि केन्द्रीय नेतृत्वसँग समन्वय गरि गठवन्धनमा रहेका दलहरु लगायतसँग वार्ता, संवाद र छलफल प्रक्रिया प्रारम्भ गर्ने निर्णय समेत गरेको छ । जसको लागि प्रदेश सभापति यादवलाई जिम्मेवारी दिएको छ ।

मधेश प्रदेश अन्तर्गत प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा निर्वाचित भएका सांसदहरुलाई कार्यक्रम आयोजन गरी सम्मान गर्ने लगायतको पाँचवटा निर्णय गरेको जनाएको छ ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ७ : ५६ बजे