Logo

प्रवास

अष्ट्रेलियामा हेरिटेज अफ फेसन



काठमाडौं । हेरिटेज अफ फेसन अष्ट्रेलिया २०२२ सम्पन्न भएको छ । आइतबार सिड्नी आयोजित शोज अन्तर्राष्ट्रियस्तरमा पहिलोपटक क्रुजमा आयोजना गरिएको असाप इन्टरटेनमेन्टका सञ्चालक सन्तोष अधिकारीले बताए ।

नेपाली डिजाइनर रोविन परियारले तयार पारेका नेपाली पहिरनमा नेपाली तथा विदेशी मोडलले र्‍याम्प नापेका थिए । नेपाली पोसाकलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन आफूले पहिलोपटक अष्ट्रेलियाको सिड्नीमा क्रुज इभेन्ट गरेको अधिकारीको दाबी छ । कोरोना महामारीपछि पहिलोपटक आफूले ठूलो लगानीमा विदेशमा फेसन शोको आयोजना गरेको उनको भनाइ छ ।

हेरिटेज अफ फेसन अष्ट्रेलियामा नेपालीका साथै ब्राजिलियन र मोरक्कन मोडल नेपाली पहिरनमा र्‍याम्पमा हिँडेका थिए । नेपाली पहिरनमा सजिएका विदेशी मोडलले नेपाली पहिरन निक्कै मन परेकाले अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा सघाउने बचन दिएको आयोजक अधिकारी बताउँछन् ।

हेरिटेज अफ फेसनको दुई सिजन नेपालमा र एक सिजन अष्ट्रेलियामा आयोजना भइसकेको थियो । यो फेसन शोका सञ्चालक अधिकारी सिनेमा निर्मातासमेत हुन्। सन्तोष दीपेन्द्र के खनाल निर्देशित सिनेमा आमाका सहनिर्माता र अर्पण थापा निर्देशित सिनेमा तीन जन्तुका निर्माण गरिसकेका छन् । डलर एयुडी छायांकनको तयारी चलिरहेको छ ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  २ : २० बजे