Logo

Breaking News 1

फेरि कमजोर बन्दै नेपाली मुद्रा, आयात खुलेपछि शोधनान्तरमा दबाब पर्ने चिन्ता



काठमाडौं । नेपाली मुद्रा फेरि कमजोर बन्दै गएको छ । मंगलबार अमेरिकी डलरको भाउ १३२ रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि अमेरिकी डलरको बिक्रीदर मूल्य १३२‍.३६ रुपैयाँ तथा खरिद दर १३१.७६ रुपैयाँ तोकेको छ । कात्तिकको पहिलो साता १३३ रुपैयाँसम्म पुगेर निरन्तर तलमाथि हुँदै आएको डलरको भाउ पछिल्लो समय निरन्तरजसो उकालो लागिरहेको छ ।

नेपालले हालै मात्र आयातमाथि प्रतिबन्ध फुकुवा गरेको अवस्थामा डलरको भाउ वृद्धिले सुधारको क्रममा रहेको शोधनान्तरमा फेरि दबाब पर्ने चिन्ता अर्थशास्त्रीहरूको छ । यद्यपि पर्यटक आगमन र रेमिट्यान्स आप्रवाह बढ्दै गएमा यसले सहजता आउने समेत आशा देखिएको छ ।

अमेरिकी डलरको भाउ निरन्तर रूपमा उकालो लागेपछि नेपाली मुद्रा (नेरु) फेरि कमजोर बनेको हो । गत ३ कात्तिक बिहीबारको लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी विनिमय दर अनुसार १ अमेरीकी डलरको बिक्री मूल्य १३३ रुपैयाँ १४ पैसा र खरिद मूल्य १३२ रुपैयाँ ५४ पैसा पुगेको थियो ।

पछिल्ला दिनहरूमा विश्व बजारमा डलरको माग बढिरहेकाले भाउ बढेको हो । डलरको भाउ बढेपछि भारुसँगै नेपाली मुद्रा कमजोर भएको हो । नेरु र भारुबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । अहिले पनि त्यही भएको हो ।

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ अमेरिकी अर्थव्यवस्थामा माग घटाउने प्रयासस्वरुप गत मार्च २०२२ बाट ब्याजदर बढाउन केन्द्रीत छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमकाअनुसार फेडरल रिजर्भले यसै साता ५० आधार अंकको दर वृद्धिको घोषणा गर्ने सम्भावना छ, जसले सन् २०२२ को कुल दर वृद्धि बढाएर ४२५  आधार अंक पुग्ने आकलन गरिएको छ ।

उच्च अमेरिकी ब्याजदरले विश्वका ठूला पूँजी सबैभन्दा ठूलो अर्थव्यवस्थातर्फ जाने देखिन्छ ।  जसले भारतीय मुद्रा जस्ता उदीयमान बजारका मुद्रामा दबाब बढाउँछ । यसले नेपाली मुद्रालाई प्रत्यक्ष असर पुर्‍याउँछ ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ९ : ४६ बजे