Logo

मुख्य समाचार

निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता



रसुवा । प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचनमा निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पूर्णरूपले पालना गर्ने रसुवाका उम्मेदवारले प्रतिबद्धता जनाएका छन् ।

जिल्ला प्रशासन कार्यालय रसुवामा बुधबार आयोजित सर्वदलीय बैठकमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनसमाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, मङ्गोल नेश्नल अर्गनाइजेशन र राष्ट्रिय स्वतन्त्र पार्टीसमेतका राजनीतिक दल एवं स्वतन्त्र उम्मेदवारसमेतले सो प्रतिबद्धता जनाएका हुन् ।

मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेल, प्रमुख जिल्लाअधिकारी नवराज जैसी, सुरक्षा अङ्गका प्रमुख, जिल्ला निर्वाचन अधिकारी श्रीराम थापालगायतका सो कार्यक्रममा सहभागिता रहेको थियो । राजनीतिक दलको तर्फबाट सम्बन्धित जिल्ला पार्टी प्रमुख, प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य, प्रदेशसभाका लागि माओवादी केन्द्रका उम्मेदवार इन्द्रप्रसाद गोतामे, कांग्रेसका प्रदेश उम्मेदवार प्रभात लामा, राप्रपाका प्रदेश उम्मेदवार हरिप्रसाद घिमिरेसमेतका उम्मेदवारको सहभागिता रहेको प्रमुख कोष नियन्त्रक एवं आचारसंहिता अनुगमन समितिका जिल्ला संयोजक हेमराज पौडेलले जानकारी दिए ।

निर्वाचन आचारसंहिता २०७९ पूर्णरूपमा पालना गर्ने दलका नेता तथा कार्यकर्ताले प्रतिबद्धता गरेका कारण जिल्लाको निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न हुनेमा नागरिक समाज पूर्ण आशावादी रहेको समाजका अध्यक्ष बाबुलाल तामाङले जानकारी दिए ।

सर्वदलीय बैठकमा आचारसंहिता २०७९ को नयाँ व्यवस्थाअन्तर्गत झण्डाको साइज, प्रचारप्रसारको अवधि, शिष्ट भाषाको प्रयोग, सञ्चारमाध्यमबाट सूचना प्रवाह गर्दा अपनाउनुपर्ने विधिसमेतका निर्वाचन आयोगद्वारा जारी गरेको विविध सामग्री प्रस्तुत गरिएको थियो ।

आसन्न निर्वाचनमा जिल्लामा ३९ हजार चार सय ५९ मतदाता रहेका निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनको सुरक्षालाई मध्यनजर राखी जिल्ला प्रहरी कार्यालय रसुवाले म्यादी प्रहरीलाई तालिम प्रदान गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ८ : २२ बजे