Logo

प्रदेश

उम्मेदवारको चुनावी एजेण्डा बन्दै प्रदेश राजधानी



धनगढी । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचमा सुदूरपश्चिमका नेताको एजेण्डा ‘प्रदेश राजधानी’ बनेको छ । कैलाली, डोटी र डडेल्धुराबाट उम्मेदवार बनेका नेताले प्रदेश राजधानीलाई चुनावी एजेण्डा बनाएर मतदातालाई आकर्षित गर्ने काम गर्न थालेका हुन् ।

कांग्रेसका सुदुरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर कैलालीको गोदावरी नगरपालिकामा नै प्रदेश राजधानी बनाउन पहल गर्ने बारे मतदातालाई आश्वस्त पार्ने प्रयास गरिरहेका छन् । कैलाली–४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका बलायरको हरेक दिनका चुनावी सभामा गोदावरीमा प्रदेश राजधानी बनाउने प्रतिबद्धता व्यक्त गर्दै आइरहेका छन् ।

‘मैले डोटीमा हुँदा प्रदेशको राजधानी धनगढी डेरामा छ, गोदावरी हावामा छ भनेको कुरालाई यहाँ पहाड बनाईदैंछ,’ कांग्रेसको क्षेत्रीय कार्यसमितिले २५ असोजमा अत्तरियामा आयोजना गरेको भेटघाटमा बलायरले भने, ‘मैले सही भनेको त छु, अहिले प्रदेशको राजधानी धनगढी डेरामा छैन र ? गोदावरीमा बनाइने भनेको राजधानी खै कता छ ? कसैले देख्नुभाछ,. हावामै छ नी । अब यो निर्वाचनमा जितेर गठबन्धनको सरकारले प्रदेशको स्थायी राजधानी निर्माण सुरु गर्छ ।’

३० असोजमा अत्तरियामा आयोजित पत्रकार सम्मेलनमा बलायरले आगामी निर्वाचनबाट केन्द्र र प्रदेशका गठबन्धनकै सरकार बनेको खण्डमा ६ महिनाभित्र गोदावरी मै राजधानी बनाउने स्वरुप र आकृति दिलाउने प्रतिबद्धता समेत व्यक्त गरे ।

‘प्रदेश र केन्द्रमा अहिलेकै सत्तारुढ गठबन्धनको सरकार बने दुई वटै सरकारको तालमेलबाट ६ महिलाभित्र राजधानीको आकृति वडा नम्बर ४ मै देखिनेछ,’ उनले भने, ‘अरुले यो काम गर्न सकेनन्, यहाँ स्थाई राजधानी बनाउने मेरो सौभाग्य हुन सक्छ ।’

डोटीलाई आधार बनाएर राजनीति गर्दै आएका बलायर यसअघिसम्म डोटीमा नै प्रदेश राजधानी हुनु पर्ने पक्षमा थिए । डोटीबाट निर्वाचन जितेर संघीय सरकारको मन्त्री समेत भैसकेका बलायर डोटीमा वाम लोकतान्त्रिक गठबन्धनले नेकपा एकीकृत समाजवादीका प्रेम आले प्रतिनिधि सभाको उम्मेदवार बनेपछि कैलाली(४ बाट प्रतिस्पर्धा गर्दैछन् ।

डोटीबाट उम्मेदवार हुँदासम्म प्रदेश राजधानी डोटीमा नै हुनु पर्ने पक्षमा रहेका बलायर प्रदेशको राजधानी तोकिएको क्षेत्रबाट नै उम्मेदवार बनेपछि मतदातालाई आश्वस्त पार्न प्रयास गर्नु स्वाभाविक मान्न सकिएला ।

तर, कैलाली–४ बाटै प्रतिनीधि सभामा उम्मेदवारी दिएका एमाले सचिव लेखराज भट्टको चुनावी भाषणमा प्रदेश राजधानी गोदावरीमा नै बनाउने विषय सधैँ समेटिन्छ । तोकिसकेकाले कतै नजाने बताउँदै आएका छन् । ‘कतिपयले गोदावरीमा नभइ राजधानी अन्य बनाउनु पर्छ भन्ने अभिव्यक्ति दिएको सुनिन्छ ।’ ३१ असोजमा अत्तरियामा कैलाली–४ निर्वाचन परिचालन समितिको सचिवालय तथा सम्पर्क कार्यालयको उद्घाटन गर्दै उनले भने, ‘तर, सुदूरपश्चिमको उपयुक्त भूगोलको आधारमा राजधानी तोकिएको छ, यहाँबाट अन्यत्र सार्ने कुरै भएन ।’

बलायर र भट्टले आफूले गोदावरीमा नै राजधानी निर्माण सुरू गर्ने प्रतिबद्धता व्यक्त गरिरहदा डोटीबाट प्रतिनिधि सभाका उम्मेदवार नेकपा एसका प्रेम आले प्रदेश राजधानी डोटीमा ल्याइ छोड्ने प्रतिबद्धता व्यक्त गरेर मतदातालाई आकर्षित गर्ने प्रयासमा छन् ।

तत्कालिन नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली, प्रचण्ड र माधब नेपाललाई भेटेर डोटीमा राजधानी बनाउनु पर्छ भनेको स्मरण गर्दै २० भदौमा डोटीमा आयोजित कार्यक्रममा आलेले भनेका थिए, ‘त्यतिबेला उहाँहरूले हाम्रो सरकार बनेपछि डोटीमै प्रदेश राजधानी बनाउँला भन्ने वचन पनि दिनु भएको थियो । तर, नेकपाको सरकार नबन्दै अस्थाई राजधानी धनगढीमा बन्यो, अस्थाई राजधानी सार्न दुई तिहाई मत नपुग्दा समस्या भएको हो ।’

उनले गोदावरीमा संरचना नबनेको अवस्थामा डोटीका नेता मिलेर त्यसलाई कसरी अगाडी बढाउने भन्ने विषयमा छलफल गर्न सकिने बताए । वनका कारण गोदावरीमा राजधानी बन्न नसकेको र त्यसलाई पुनर्विचार गर्ने उनको भनाइ छ ।

आगामी ४ मंसिरमा हुने निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका उम्मेदवारहरूले सुदुरपश्चिम प्रदेशको राजधानी आफ्नो क्षेत्रमा बनाउने प्रतिबद्धता गरेर मत तान्ने प्रयास गरिरहेका छन् ।

गत बैशाखमा पालिकाको निर्वाचनका क्रममा कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश राजधानी डडेल्धुरामा सार्न सकिने बताएका थिए । स्थानीय तहको निर्वाचनका लागि प्रचारप्रसार गर्न डडेल्धुरा पुगेका प्रधानमन्त्री देउवाले गत २७ बैशाखमा डडेल्धुरा बजारमा आयोजित चुनावी सभामा आवश्यक संरचना निर्माण गरेर प्रदेशको राजधानी डडेल्धुरा बनाउन सकिने र त्यसका लागि पहल गर्ने उनले बताएका थिए ।

देउवाले भनेका थिए, ‘डडेल्धुरालाई नै प्रदेश राजधानी बनाउन सकिन्छ, डडेलधुरा र डोटीमा सभागृहलगायत संरचना थिएनन्, त्यसकारण राजधानी बनाउन सकिएन, अब संरचनाहरू निर्माण गर्छौं, त्यसपछि प्रदेश राजधानी पनि सार्न सकिन्छ ।’ प्रधानमन्त्री देउवाले राजधानी सार्ने विषय ठूलो कुरा नभएको बताएका थिए ।

सुदूरपश्चिम प्रदेश सभाले १२ असोज ०७५ मा सुदुरपश्चिम प्रदेशको राजधानी गोदावरी नगरपालिकामा बनाउने र प्रदेशको नाम सुदूरपश्चिम राख्ने निर्णय गरेको थियो । राजधानी तोकिएको चार वर्ष बितिसके पनि अझै गोदावरीमा राजधानीका लागि आवश्यक पुर्वाधार निर्माण सुरु भएको छैन । गोदावरी राजधानी बनाउने प्रदेश सरकारको निर्णयविरुद्ध परेको मुद्दा अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन छ ।

 

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  २ : ०१ बजे