Logo

प्रवास

भूतपूर्व गोर्खा सैनिकका मागलाई लिएर नेपाल र बेलायतबीच नोभेम्बरमा वार्ता हुने



लण्डन । बेलायती सेनाबाट सेवानिवृत्त भूतपूर्व गोर्खा सैनिकहरुका मागबारे छलफल गर्न बेलायत र नेपालबीच सरकारी स्तरमा वार्ता हुने भएको छ ।

बेलायतको लण्डनस्थित नेपाली दूतावासका अनुसार बेलायत सरकार दुई देशबीचको औपाचारिक वार्ता आगामी नोभेम्वर ३ तारिख गर्न राजी भए पछि वार्ताको ढोका खुलेको हो ।

लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख तथा प्रवक्ता रोशन खनालका अनुसार बेलायती सरकारको तर्फबाट वार्ताको नेतृत्व भेट्रान्स मामिला हेर्ने सहायक मन्त्री सारा एथर्टनले गर्ने छिन् ।

यसअघि नेपाल सरकारले भूतपूर्व गोर्खा सैनिकहरुको विषयमा बेलायत सरकारसँग वार्ता गर्न बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको संयोजकत्वमा एक वार्ता समिति गठन गरेको थियो । तर, वेलायतमा भएको राजनीति परिवर्तनका कारणले गर्दा बेलायती सरकारले वार्तालाई पछि धकेल्दै आएको थियो ।

लण्डनस्थित नेपाली दूतावास उच्चस्रोतका अनुसार बेलायत सरकारले वार्तामा बस्नुअघि पूर्वशर्तहरु अनिवार्य रुपमा स्वीकार गर्न दवाव दिएको थियो ।
गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्ण बहादुर राईले बेलायत सरकारसँग गत मार्च ४ तारिख बुझेको टेक्निकल रिपोर्टको आधारमा त्रिपक्षीय वार्ता हुनु पर्ने बताए ।

लण्डनस्थित बेलायतको रक्षा मन्त्रालयमा हुने वार्तामा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिको नेतृत्व रिटर्य मेजर जुद बहादुर गुरुङले गर्ने छन् ।

लामो समयदेखि आन्दोलन गर्दै आएका भूतपूर्व सैनिकहरुले सन् १९९७ भन्दा पहिले सेवा निवृत्त भएका गोर्खा सैनिकहरुले बेलायती सैनिक सरह समान पेन्सन र अधिकारको माग गर्दै आएका छन् ।

 

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ३ : १४ बजे