Logo

प्रविधि

ई–सिम वितरणगर्दै टेलिकम, कुन कुन मोबाइलमा सर्पोट गर्छ ?


३१ भाद्र २०७९, शुक्रबार  

552
Shares

काठमाडौं । भौतिक सिमकार्डविनाको आईफोन १४ को अमेरिकी भर्सन नेपालमा पनि चल्ने भएको छ । आईफोन १४ का अमेरिकी भर्सनहरु भौतिक सिमकार्ड राख्ने ट्रे विना नै आएकाले ती फोनहरु नेपालमा चल्ने नचल्नेबारे अन्यौल रहेको थियो । तर अब नेपाल टेलिकमले ती फोनहरुका लागि समेत शुक्रबारदेखि ई–सिम वितरण गर्ने भएको छ । नेपाल टेलिकमले यस अगाडि नै ई–सिम ल्याउने तयारी गरेपनि आईफोन १४ को घोषणा लगत्तै ई–सिमको योजना कार्यान्वयन गर्ने भएको छ ।

कसरी लिने ई–सिम ?

नेपाल टेलिकमले दूरसन्चार कार्यालय, सुन्धारा काउन्टरबाट आजदेखि (शुक्रबार) ग्राहकहरुलाई नि:शुल्क ई–सिम वितरण गर्ने भएको हो । ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरुले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने टेलिकमले जनाएको छ ।

कम्पनीका प्रवक्ता शोभन अधिकारीले हाल भौतिक सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरुका पोस्टपेड र प्रिपेड सिमलाई नि:शुल्क ई–सिममा परिवर्तन गर्न सकिने जानकारी दिएका छन् ।
उनका अनुसार नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा ई–सिम उपलब्ध गराइने र नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने तत्कालैे ई सिम उपलब्ध नगराइने नेपाल टेलिकमले जनाएको छ ।

ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका नेपाल टेलिकमका पहिले देखिका ग्राहकले सो सिम लिनका लागि आवश्यक फारम भरेर बुझाउनु पर्ने उनले बताए ।

के हो ई–सिम ?

ई–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो । ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ ।
ई–सिम प्रयोगमा आएपश्चात सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन । मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइस हरुमा समेत प्रयोग गर्न सकिन्छ ।
अधिकारीका अनुसार हालका सबै प्रयोगकर्ताले समेत ई –सिम प्रयोग गर्न सक्नुहुनेछ भने नयाँ प्रयोगकर्ताले पनि सहज तरिकाले ई–सिम लिन सक्नेछन् ।

कुन कुनमा सर्पोट गर्छ ?

नेपाली बजारमा ई–सिम लाग्ने फोन अहिले पनि उपलब्ध छन् । हालै अमेरिकामा सार्वजनिक भएको आइफोन–१४ मा ई–सिम मात्रै लाग्ने गर्छ ।

यस्तै, हाल एप्पलको आईप्याड प्रो, एप्पल वाच सिरिज थ्री, वाच सिरिज फोर, सिरिज फाइभ, आईफोन एक्स र एक्स एस म्याक्स, आईफोन एक्स आरका साथै आईफोन इलाभेन र ट्वेल्भ सिरिजका डिभाइसले ई–सिम सपोर्ट गर्दछन् ।

त्यस्तै गुगलको पिक्सेल टु, गुगल पिक्सेल थ्री, पिक्सेल थ्री एक्सएल तथा पिक्सेल फोर, पिक्सेल फोर एक्सएल, पिक्सेल फोर एमा पनि ई–सिम सपोर्ट रहेको छ ।

यसका साथै सामसङ ग्यालेक्सी एस ट्वान्टी, एस ट्वान्टी प्लस, एस ट्वान्टी अल्ट्राले पनि ई–सिम सपोर्ट गर्दछन् । त्यस्तै सामसङकै फोल्डेबल फोन जेड सिरिज, माइक्रोसफ्ट विन्डोज १०, माइक्रोसफ्ट सर्फेस डुओ, ह्वावे पी ४० लगायतका डिभाइसमा समेत ई–सिम सपोर्ट छ ।

एमडिएमएस प्रणाली सुरु

यसैबीच, नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरूत्साहित गर्ने उद्देश्यले एमडिएमएस प्रणाली सुरु गरेको छ । प्राधिकरणले बिहिबारदेखि मोबाइल सेटको गैरकानुनी बिक्री वितरणलाई रोक्दै थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ/ब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न एमडिएमएस प्रणाली सुरु गरेको हो ।
प्राधिकरणले एमडिएमएस प्रणाली सुरु गरेसँगै विदेशबाट व्यक्तिगत तवरले ल्याइएका मोबाइल सेटलगायत आजको मितिसम्म चालु रहेका सबै मोबाइल सेट स्वत: एमडिएमएस प्रणालीमा दर्ता हुने व्यवस्थासमेत गरेको छ । प्राधिकरणले आजदेखि मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडिएमएस प्रणालीमा दर्ता भए/नभएको यकिन गरी मात्र खरिद गर्नुहुन अनुरोध गरेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  १० : ३३ बजे