Logo

खेलकुद

लिभरपुलको लज्जास्पद हार



काठमाडौं । च्याम्पियन्स लिगको नयाँ सिजनको पहिलो खेलमा लिभरपुल इटालियन क्लब नापोलीसँग पराजित भएको छ । समूह ए अन्तरगतको खेलमा लिरभपुल ४–१ गोलअन्तरले पराजित भएको हो ।

योर्गन क्लपको टोली पहिलो हाफमा नै ३–० गोलले पछि परेको थियो । गोलकिपर एलिसनले पेनाल्टी नरोकेको भए र भर्जिल भान डाइकले गोल लाइनबाट ब्लक नगरेको भए लिभरपुलले थप गोल खाने थियो । पिओटर जिलिन्स्कीले पाँचौँ मिनेटमा नै पेनाल्टीमार्फत नापोलीलाई अग्रता दिलाएका थिए । १८ औँ मिनेटमा भिक्टर ओसिम्हेनले पेनाल्टीबाट अग्रता दोब्बर गर्ने मौका गुमाए । तर आन्द्रे फ्रांक एन्गुइसा र जियोभानी सिमिओनीले गोल गर्दै नापोलीको अग्रता फराकिलो बनाए ।

च्याम्पियन्स लिगमा पहिलो हाफमा लिभरपुल पछि परेको सन् २०१४ पछि यो पहिलो पटक थियो । दोस्रो हाफमा जिलिन्स्कीले अर्को गोल थपे । तर लगत्तै लिभरपुलका लागि लुइस डियासले गोल फर्काए । समूहकै अर्को खेलमा आयाक्सले रेन्जर्सलाई ४–० को अन्तरले पराजित गरेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहिबार  ६ : ५३ बजे