Logo

समाचार

परिवर्तन गाउँपालिका ६ को नवनिर्मित भवन उद्घाटन



रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिका ६ को नवनिर्मित वडा कार्यालय भवनको एक कार्यक्रमका बीच बिहीबार उद्घाटन भएको छ । परिवर्तन गाउँपालिका ६ का वडा अध्यक्ष भरत कुमार बुढाको अध्यक्षमा भएको वडा कार्यालय भवन उद्घाटनको प्रमुख अतिथिमा परिवर्तन गाउँपालिका अध्यक्ष सुक बहादुर बुढा मगर रहेका थिए । विशिष्ट अतिथीमा मगर मुक्ति मोर्चाका केन्द्रिय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज कर्ण बहादुर बुढा र नेपाली कांग्रेस जिल्ला कार्यसमिति रोल्पाका सदस्य अमृत बुढामगर रहेका थिए ।

परिवर्तन गाउँपालिका ६ का वडा सदस्य अर्जुन बुढा मगरको स्वागत मन्तव्यबाट सुरुभएको भवन उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य राख्नेमा नेकपा एकीकृत समाजवादी परिवर्तन गाउँपालिका ६ का सदस्य राम बहादुर घर्ती, नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिका ६ का अध्यक्ष भूपेन्द्र बुढा मगर, नेपाली कांग्रेस परिवर्तन गाउँपालिका ६ का सभापति वीर बहादुर घर्ती मगर लगाएत विशिष्ट अतिथी र प्रमुख अतिथी रहेका थिए ।

कार्यक्रममा परिवर्तन गाउँपालिका ६ का वडा सदस्य, टोल समितिका अध्यक्ष, आमा समूहका अध्यक्ष, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, विद्यालयका शिक्षक, विद्यार्थी, स्थानीय बुद्धिजीवी, ब्यापारी लगाएतको आतिथ्यता रहेको थियो । नवनिर्मित भवन उद्घाटनका प्रमुख अतिथी परिवर्तन गाउँपालिका अध्यक्ष सुक बहादुर बुढामगरले भवनको रिबन र ब्यानर पढेर उद्घाटन गर्दै, परिवर्तन गाउँपालिका ६ वडा बासीले आफ्नै भवनबाट सेवा पाउनेमा आफू विश्वस्त रहेको बताए । बुढा मगरले पहिले भाँडाको घरबाट सेवा प्रदान गर्दै आएकोमा आफ्नो प्रशासन भवनले यहाँका नागरिकहरको सेवालाई चुस्त द्रुस्त राख्नेमा महत्त्वपूर्ण भुमिका खेल्न समेत आग्रह गरे ।

पहिले जन्म दर्ता लिन समेत लिबाङ (सदरमुकाम) जाने बाध्यता रहेको कुरालाई जिकिर गर्दै, बुढा मगरले भने– ‘अहिले उक्त सेवा नजिकैको वडा कार्यालयबाट प्रदान भइरहेको छ ।’ आफू निर्वाचित भएर आएपछी पालिकामा बेरुजु घटाउन सफल भएको उनको भनाई छ । भवनको जग्गा खरिद २०७७को अन्तिममा भएको, निर्माण कार्य २०७८ माघ महिना देखि भएको थियो भने सम्पन्न २०७९ असार २० गते सम्पन्न भएको थियो । भवनको पाँच वटा कोठा रहेका छन् । वडा कार्यालय निर्माणका लागि परिवर्तन गाउँपालिका बाट ८ लाख ५० हजार र जनश्रमदान १ लाख २५ हजार २ सय ३० रुपियाँ गरि कुल लागत ९ लाख ७५ हजार २ सय ३० रुपैयाँमा निमार्ण भएको हो ।

वडा कार्यालय भवन निर्माण काम परिवर्तन गाउँपालिका ६ का निवर्तमान वडा अध्यक्ष भान्सिङ बुढा, निवर्तमान वडा सदस्यहरु दिल कुमारी गिरी, भूपेन्द्र बुढा र दल बहादुर पुन लगाएतको नेतृत्वमा भएको थियो । २०७४ देखि परिवर्तन गाउँपालिका ६ वडाको सेवा हालसम्म नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको भवनबाट सेवा प्रदान भइरहेको थियो ।यसरी परिवर्तन गाउँपालिका ६ को नवनिर्मित भवन निर्माण र उद्घाटन भएपछी परिवर्तन गाउँपालिका ६ का नागरिकहरु खुशी भएका छन् ।

परिवर्तन गाउँपालिका ६ वडा कार्यालयबाट ८ सय २० घर लाभान्वित हुने वडा कार्यालयले जनाएको छ । नेपाली हिन्दु महिलाहरूको हरितालिका तिजको पञ्चमीमा परिवर्तन गाउँपालिकाले तीज विशेष कार्यक्रम समेत आयोजना गरेको थियो । ‘कला, संस्कृतिको सम्मान गरौं, सम्पूर्ण महिलाहरु मिली सभ्य समाजको निर्माण गरौं,’ भन्ने मूलनाराका साथ आयोजना गरिएको हो । तीज विशेष कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र सान्त्वना आउने आमा समूहलाई वडा कार्यालयले पुरस्कार समेतको व्यवस्था गरेको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ७ : ४७ बजे