Logo

Breaking News 1

आज हरितालिका तीज



काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ । आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिइकन निराहार बर्त बस्न बसिन् ।

यसरी पार्वतीको कठोर बर्तको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशीर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथिदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ ।

खास गरी स्त्रीहरूले पतिको निम्ति निराहार रहेर भगवान शिव तथा आद्य शक्ति पार्वतीसँग प्रार्थना गर्दछन् । यो दिन महिलाहरू बिहान चाँडै उठी नुहाई धुवाई गरेर दिनभरि जल, अन्न ग्रहण नगरी बर्त बस्ने गर्दछन् । बेलुकीपख घर, गाउँ र छिमेकका महिलाहरू भेला भई पूजाका सामान तथा मण्डप तयार गरी भगवान शिवको आराधना गर्ने प्रचलन रहेको छ । निर्जला बर्त भनिए पनि आजभोलि महिलाहरू मध्यान्हमै पूजा, आराधनापश्चात् फलफूल ग्रहण गर्ने गर्दछन् । कतिपय महिलाहरू नजिक रहेको शिवमन्दिरमा गई शिव आराधनाका साथै नाचगान तथा रमाइलो गर्ने गर्दछन् ।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण विगत दुई वर्षमा सामूहिक भेला र पशुपतिलगायतका मन्दिरहरु बन्द गरिए पनि यस वर्ष खुला गरिएका छन् । दुई वर्षपछि पशुपतिलगायतका शिवालयहरु खुला गरिएपछि बिहानैदेखि दर्शनार्थीहरुको बाक्लो भिड लागेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ७ : ३९ बजे