Logo

विशेष

थवाङमा प्रभावकारी बन्दै ‘पढ्दै कमाउदै’ कार्यक्रम



रोल्पा । पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत देशभरी १४० विद्यालय छनोट गरिएको थियो जसअनुसार रोल्पा जिल्लाबाट तीन वटा विद्यालय छनोटमा परेका थिए । जसमा श्री बलभद्र नमूना माध्यमिक विद्यालय थवाङ गाउँपालिका २ थवाङमा अवस्थित रहेको विद्यालयमा पढ्दै कमाउदै कार्यक्रम प्रभावकारी बन्दै गरेको विद्यालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक कुल बहादुर वलीका अनुसार आफ्नो विद्यालयमा पढ्दै कमाउदै कार्यक्रम प्रभावकारी बन्दै गरेको छ ।

वलीले आफ्नो विद्यालयमा पढ्दै,कमाउँदै कार्यक्रम राम्रो भएको प्रतिक्रिया दिदै भने ‘हाम्रो विद्यालयले २ वटा ठूला माउ सुंगुर र ४ वटा सुंगुरका बच्चा पालन, २ सय कुखुरा पालन, तरकारी खेती र ५ हजार बराबरको माछाका भुरा पालन समेत गरिएको छ ।’ यसरी विद्यालयमै पढदै, कमाउँदै कार्यक्रम सञ्चालन भएपछि विद्यार्थीहरु हर्षित भएको वलीको भनाइ छ । यो कार्यक्रमले गरीब तथा आर्थिक विपन्न परिवारका विद्यार्थीहरुलाई ठूलो राहत मिल्ने बताइएको छ । एकातर्फबाट पढ्न पनि सकिन्ने, अर्को तर्फबाट पढाईसँगै कमाउन पनि सकिन्ने अपेक्षा लिइएको छ ।

यो कार्यक्रमले विद्यार्थीका स्वरोजगार सँग पनि जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने समेत नेपाल सरकारको उद्देश्य लिएको छ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव श्रोत केन्द्र सानोठिमी भक्तपुरले २०७८ फागुन १७ गते प्रकाशन गरेको सूचनामा रोल्पाका तीन विद्यालय सुचीकृत भएका थिए । जसमा श्री नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालय थप प्राविधिक तथा व्यवसायीक विद्यालय परिवर्तन गा.पा. ५ राङकोट रोल्पा, श्री वीर बलभद्र नमूना माध्यमिक विद्यालय थबाङ गा.पा. २ थबाङ रोल्पा र श्री सिद्धार्थ नमूना माध्यमिक विद्यालय गंगादेव गा.पा. ३ घोप्टेओढार रोल्पा परेका थिए ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ६ : ४६ बजे