Logo

Breaking News 1

आगामी संघ र प्रदेशको निर्वाचनका लागि आचार संहिता बनाउदै निर्वाचन आयोग



काठमाडौं । निर्वाचन आयोगले आचार संहिता निर्माणको प्रक्रिया थालेको छ । आगामी मंसिर ४ गतेका लागि तय गरिएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आचार संहिता निर्माणको प्रक्रिया सुरू भएको आयोगले जनाएको छ ।

यसका लागि सोमबार राजनीतिक दलहरूसँग छलफल कार्यक्रम राखिएको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिएका छन् । आइतबार निर्वाचनमा रिपोर्टिङ गर्ने पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले गत स्थानीय तहको निर्वाचनको आचार संहिता कार्यान्वयनको अवस्थाको मूल्यांकन गर्दै दलहरूको सुझावको आधारमा संहिता जारी गर्ने बताए ।

उनले गत निर्वाचनमा आयोगले जारी गरेको निर्वाचन आचार संहिता पत्रकारितासँग सम्बन्धित संस्थाका व्यक्तिले ‘आयोगको छुट्टै संहिता मान्दिनँ’ भनेको प्रति आश्चर्य लागेको बताए ।

उनले भने, ‘आम संचार माध्यमले आचार संहिता पालना गरेमा आयोगले स्पष्टीकरण सोध्नेका लागि कागज खर्च गर्नु नपर्ने थियो । जुन मिडियाले आचार संहिता पालना गर्नुपर्छ भनेर लेख्थ्यो उसैले बढी आचार संहिता उल्लंघन गरेको पनि पाइयो । आचार संहिता पालना गर्न र गराउन संचार माध्यमको ठूलो भूमिका हुन्छ ।’

प्रमुख आयुक्त थपलियाले आगामी मंसिर ४ गतेको निर्वाचन सफल बनाउनका लागि आयोगले दिव्य दृष्टि लगाएर काम गरिरहेको उल्लेख गरे ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  १० : ०६ बजे