Logo

Breaking News 1

‘मिटरब्याज अपराध’ नियन्त्रणका लागि सहसचिवको संयोजकत्वमा कार्यदल गठन


२७ श्रावण २०७९, शुक्रबार  

69
Shares

काठमाडौं । सरकारले मिटरब्याजसम्बन्धी अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रवार बिहान गृहमन्त्री बालकृष्ण खाण, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र गृह मन्त्रालयका सहसचिवलाई बोलाएर मिटरब्याजसम्बन्धी समस्या समाधानका लागि उपायहरू पहिचान गरी अपराधीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन र भविष्यमा यस्ता अपराध हुन नदिन आवश्यक पहल कदमी लिन निर्देशन दिएका थिए ।

प्रधानमन्त्री देउवाको निर्देशनपछि गृहमन्त्री खाणले मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव डा। भीष्म भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका छन् ।

कार्यदलमा नेपाल प्रहरीका केन्द्रीय अनसुन्धान ब्यूरोमा कार्यरत वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानून उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको अपराध अनुसन्धान शाखामा कार्यरत उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा सदस्य छन् ।

कार्यदलको सदस्य सचिव नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत नायब उपरीक्षक रोशन खड्कालाई तोकिएको छ । कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ ।

कार्यदललाई मिटरब्याजसम्बन्धी समस्या बढी भएका जिल्लाहरूमा स्थलगत भ्रमण गरी समस्याका कारकहरू तथा समाधानका उपायहरू पहिचान गर्ने, मिटरब्याजी अपराधमा संलग्न व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउन अन्तरनिकाय समन्वय र सहकार्य गर्ने तथा आगामी दिनमा यस्तो अपराध न्यूनीकरण गर्न अबलम्बन गर्नुपर्ने उपायहरूका सम्बन्धमा सिफारिससहितको प्रतिवेदन पेश गर्नेलगायतका कार्यादेश दिइएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ३ : १२ बजे