Logo

धर्म / संस्कृति

आज जनै पूर्णिमा : रक्षाबन्धन र राखी बाँधेर मनाइँदै


२७ श्रावण २०७९, शुक्रबार  

828
Shares

काठमाडौं । नयाँ जनै फेर्दै र रक्षा बन्धन डोरो बाँध्दै आज शुक्रबार जनैपूर्णिमा पर्व मनाइँदै छ । हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन जनैपूर्णिमा मनाउने गरिन्छ । यसपालि बिहीबार र शुक्रबार दुई दिन पूर्णिमा तिथि रहे पनि सूर्योदय कालमा पूर्णिमा तिथि रहेकाले आज शुक्रबार जनैपूर्णिमा मनाउन लागिएको हो ।

यो पर्वलाई ‘रक्षा बन्धन’ वा ‘ऋषि तर्पणी’ पनि भन्ने गरिन्छ । पूर्णिमाका दिन नयाँ जनै लगाउने तागाधारीले बिहानी उठी नुहाइधुवाइ गरी वैदिक मन्त्र उच्चारण र सप्तर्षिलाई तर्पण गरी जलसेचन गराइएको जनै धारण गर्ने परम्परा छ । उनीहरू पुरानो जनै फुकाली चोखो गरी नयाँ जनै फेर्ने गर्छन् ।

जनाई लगाउने तागाधारीले गोबर, माटो, कुस लगाएर पवित्र जलाशयमा गएर स्नान गरी दतिवन वा अपामार्गले दाँत माझ्ने र पञ्चगव्य खाएर नयाँ जनै फेर्ने गरिएको संस्कृतिविद् बताउँछन् । पूर्णिमाका दिन कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र वशिष्ठलगायत सप्तर्षिलाई तर्पण दिने गरिएकाले यसलाई ‘ऋषि तर्पणी’ भन्ने गरिएको हो ।

पूर्णिमाका दिन पुरोहितले यजमानका हातमा पहेंलो धागोको रक्षाबन्धन बाँधिदिने चलन छ । यो धाँगो बाँध्नाले शरीर रक्षा हुने विश्वास रहिआएको छ । ‘येनबद्धो बलिराजा दानवेन्द्रो महाबल, तेन त्वं प्रतिवध्नामी रक्षेमा चल मा चल’ मन्त्र पढ्दै ब्राह्मणले यजमानको नाडीमा बाँधिदिन्छन् ।

तागाधारीले यज्ञोपवीत धारण गर्दै

आजकै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनीतो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन, र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ ।

स्नानपछि जौ तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिन्छ । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो ।

वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागो समेत भनिन्छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायकलगायत वाग्मती नदीको किनार र काठमाडौँ उपत्यकालगायत देशभरका मठ मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ । यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना जोखिम कायमै रहेकाले भौतिक दूरी कायम गरी सांस्कृतिक पर्व मनाउन सरकारले आह्वान गरेको छ ।

क्वाँटीको परम्पररा

जनै पूर्णिमाका दिन एघार थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ । विभिन्न थरी गेडागुडी मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सक डा। शेषराज आचार्य बताउँछन् । यसबाट चिसो गाडिएर लाग्ने रुघाखोकीजस्ता रोग पनि निको हुने उनले सुनाए ।

तराई क्षेत्रमा राखी बाँधिदै

नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदी बहिनी र दाजुभाईका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।

यस दिन काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुकल पूर्णिमा दिन बिहानैदेखि मेला लाग्ने लागछ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ६ : ३६ बजे