Logo

खेलकुद

साफ यू–२० च्याम्पियनसिपमा आज भारतसँग खेल्दै नेपाल



काठमाडौं । भारतको भुबनेश्वरमा भइरहेको साफ यू–२० च्याम्पियनसिपमा नेपालले आफ्नो तेस्रो खेलमा आज घरेलु टोली भारतसँग खेल्दैछ । खेल कालिंगा स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुनेछ ।

यसअघि दुई खेल जितेर आत्मविश्वास बटुलेको नेपाल लगातार तेस्रो खेल जित्दै फाइनल पुग्ने लक्ष्यमा छ ।

नेपालले यसअघि माल्दिभ्सलाई ४–० र श्रीलंकालाई ३–० ले पराजित गरेको थियो । उता भारतले भने यसअघि मिश्रित नतिजा निकालेको छ । पहिलो खेलमा बंगलादेशसँग २–१ ले पराजित भएको भारतले दोस्रो खेलमा श्रीलंकालाई ४–० ले पराजित गरेको थियो ।

फाइनल पुग्नका लागि नेपाल र भारत दुवैलाई यस खेल महत्वपूर्ण छ । भारतलाई हराएमा नेपाल लगभग फाइनल पुग्नेछ । भारतलाई पनि फाइनल पुग्ने सम्भावना कायम राख्न नेपालविरुद्ध खेल जित्नै पर्नेछ दबाब छ ।

नेपालका प्रशिक्षक मेघराज केसीले च्याम्पियनसिपका लागि कडा मिहिनेत गरेको र चारै टिमविरुद्धको खेल महत्वपूर्ण रहेको बताएका छन् । ‘मैले चार वटै टिमलाई प्रतिस्पर्धीको रुपमा लिएको छु र उनीहरू भन्दा राम्रो खेलेर उनीहरुलाई हराउनैपर्छ ।’

नेपाल र भारत छिमेकी भएकोले पनि यी दुई टोलीको खेल हुँदा चर्चा पाउने केसीले बताए ।

पाँच राष्ट्र सहभागी च्याम्पियनसिप सिंगल राउण्ड रोविन लिगका आधारमा भइरहेको छ ।

सहभागी टोलीले एकआपसमा खेलेपछि धेरै अंक जोड्ने दुई टोलीले फाइनल खेल्नेछन् ।

तीन खेल जित्दै ९ अंक जोडेको बंगलादेश शीर्ष स्थानमा छ र फाइनल नजिक छ । दुई खेलबाट ६ अंक जोडेर नेपाल दोस्रो स्थानमा छ । भारत दुई खेलबाट ३ अंकसहित तेस्रो स्थानमा छ ।

आजै माल्दिभ्स र श्रीलंकाबीच सवा ४ बजे खेल हुनेछ । लगातार दुई खेल हारेको माल्दिभ्स र लगातार तीन खेल हारेको श्रीलंका अंकविहीन छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ८ : ४० बजे