Logo

मुख्य समाचार

काठमाडौंका मेयर साहद्धारा नेपाल समाचारपत्र र हिमालय टिभी बिरुद्ध काउन्सिलमा उजुरी



काठमाडौं । गलत समाचार प्रकाशन र प्रशारण गरेको आरोपमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नेपाल समाचारपत्र दैनिक र हिमालयन टेलिभिजन बिरुद्ध नेपाल प्रेस काउन्सिलमा उजुरी दिएका छन् ।

आज मंगलबार साहले दुवै सञ्चारमाध्यमहरुले महानगरपालिकाका विषयमा तथ्यहीन, भ्रामक र कपोलकल्पित समाचार सम्प्रेषण गरेको आरोप लगाएका छन् ।

महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रममा १ करोड रुपैयाँ रुटिन अफ नेपाल बन्द नामको फेसबुक पेजलाई छुट्याएको समाचार समाचारपत्र र हिमालयन टिभीले प्रकाशन/प्रशारण गरेका थिए ।

साहले ती समाचारबाट भ्रम उत्पन्न हुनुका साथै व्यक्तिगत र संस्थागन गरिमामा आँच पुगेको बताएका छन् ।

‘अमूक संस्थालाई बजेट बिनियोजित गरेको समाचार प्रकाशन तथा प्रशारण गरी पत्रकार आचार संहिता २०७३ को दफा ४ बमोजिम कर्तव्य पालना गरेको नदेखिएकोले सोही आचार संहिताको दफा ७ बमोजिम दुवै सञ्चारगृहलाई क्षतिपूर्ति सहितको कारवाहीको माग गर्दछु,’ उजुरीमा साहले लेखेका छन् ।

साहले आफ्नो फेसबुकमा एक स्टाटस सहित उजुरी सार्वजनिक गर्दै भनेका छन् ,‘ सत्य कुरा हो, कुनै पनि पत्रकार र मिडिया सार्वजनिक पद वा सत्ताको प्रतिपक्षी हुनुपर्छ, अख्तियारको दुरुपयोग भएको छ कि वा ति संस्थाहरुले गलत काम गरेका छन् कि भन्ने भन्नेमा सजग रहेर जनमानसमा सूचना दिनुपर्छ । लोकतन्त्रको चौथो आधारस्तम्भका रुपमा पत्रकारितालाई हामी सँधै सम्मान गर्छौँ ।’

फेसबुक स्टाटसमा उनले भनेका छन्, ‘सँगसँगै यो पनि भन्न चाहन्छौँ कि पुर्वाग्रहपुर्ण प्रतिपक्ष र भ्रामक सूचनाले पत्रकारिताको गरिमा र महत्वलाई स्थापित गर्न सक्दैन । लोकतन्त्र र कानुनको पालना सबैले गर्नुपर्छ । यसैले केहि पहिले आएका भ्रामक समाचारहरुका लागि कानुन बमोजिम कारबाहीको गर्न प्रेस काउन्सिलमा उजुरी दर्ता गराएका छौँ ।

आशा छ, आगामी दिनहरुमा पत्रकारिताले सहि र सत्य सूचना, समाचार मात्रै सम्प्रेषण गर्नेछ । नागरिकको सूचनाको हकलाई प्रदुषित गर्ने कार्यका विरुद्ध पत्रकारिताक्षेत्र नै जागरुक र सचेत हुनेछ ।’

काठमाडौं महानगरका मेयर साहले दायर गरेको यो उजुरी–

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ४ : ४८ बजे