Logo

Breaking News 1

फुट्ने भयो जसपा



काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव अलग-अलग हुने भएका छन् । दुवैजनाले सल्लाह गरेर अलग हुने निर्णय गरेका हुन् ।

केहि दिनदेखि दुवै नेताबीच विवाद चर्किएकै बेला पार्टी फुटाएर अलग हुने निर्णय भएको दुवै तर्फका नेताहरुले बताएका छन् । बुधबार सिंहदरबारमा भएको दुई नेताबीचको वार्ताका क्रममा आ–आफ्नो बाटो लाग्ने सहमति बनेको हो ।

छलफलमा अध्यक्ष भट्टराईले यादव क्षेत्रीय र जातीय राजनीतिबाट माथि उठ्न नसकेको भन्दै सँगै काम गर्न नसकिने धारणा राखेका थिए । उनले आफूलाई पार्टीमा सँगै काम गर्न गाह्रो भइरहेको भन्दै सहमतिमै अलग हुन यादवसँग प्रस्ताव गरेका थिए । त्यसमा यादवले सहमति जनाएको जसपा स्रोतले बतायो ।

भट्टराईले तत्कालीन नयाँ शक्ति लिएर जसरी संघीय समाजवादी फोरम नेपालसँग एकीकरण गरेका थिए, त्यसरी नै अलग हुने धारणा यादव समक्ष राखेका थिए । अध्यक्ष भट्टराईसँग कोको जाने भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन । त्यो कुरा बाबुरामले पनि यादवसँगको भेटमा विस्तृतमा खुलाएका छैनन् ।

स्रोतका अनुसार, सौहार्दपूर्ण वातावरणमा दुवै नेताहरु अलग हुने निर्णयमा पुगिसकेका छन् । बाबुरामले अलग हुन राखेका प्रस्ताव उपेन्द्रले सहजै स्वीकार गरेको स्रोतले जनायो ।

भट्टराई उपेन्द्र यादवसँगै मिलेर पार्टीमा नबस्ने निश्चित भइसकेको स्रोतको भनाई छ । जसपामा उपेन्द्र यादवसँग नबस्ने लगभग निश्चित नै भइसकेको छ, त्यहाँबाट कसरी निस्किने भन्ने बारेमा छलफलहरु भइरहेको छ,’ बाबुराम निकट एक नेताले भने ।

बाबुराम भट्टराईले जसपाको राष्ट्रिय भेला बोलाएर अलग हुने सोच बनाएको बुझिएको छ । ती नेताले भने, ‘बाबुरामजीले पार्टीमा सबैलाई यथार्थ जानकारी गराएर अलग हुने सोच बनाउनु भएको छ हेरौं उहाँको तयारी कहाँसम्म जान्छ ।’ यद्यपि यादवसँग सहमति बनेपनि उनलाई सहजरुपमा बाहिरन भने गाह्रो छ । त्यसका लागि भट्टराईसँगको भेटमा जे भनेपनि पछि उपेन्द्र यादवले अवरोध खडा गर्न पनि सक्छन् ।

हाल अध्यक्ष भट्टराईलाई कार्यकारिणी सदस्य महिन्द्रराय यादव, राजकिशोर यादवले पनि साथ दिइरहेका छन् । आ–आफ्नो बाटो लागेमा भट्टराईलाई साथ दिइरहेका महिन्द्र, राजकिशोर लगायतले के गर्लान् भन्ने चासो पछि छ ।

यहीबीच यादवले मन्त्री हेरफेरबारे गर्ने निर्णयलाई पनि असन्तुष्ट पक्षले पर्खिएका छन् । मन्त्री हेरफेर भएमा असन्तुष्ट नेताहरुले बाबुरामलाई साथ दिने अवस्था बन्न सक्ने कतिपयको भनाइ छ । यही रणनीतिका साथ यादवको निर्णयको पर्खाइमा बाबुराम छन् ।

यता, यादवले बाबुराम अलग भएर गएपछि मात्र मन्त्री हेरफेर गर्ने सोच बनाएर बसेका छन् । मन्त्री पाउने लोभमा केहि सांसद यादवतिर रहने संभावना देखिएको छ । तर अधिकांश पुराना र प्रभावशाली नेताहरु भट्टराईतिरै हुने देखिएको छ ।

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार  ३ : ०१ बजे