Logo

Breaking News 1

एमालेमा बीउ रोपेर आएका छौं, केही समयपछि त्यो फल्छः प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेमा आफूहरुले बिउ रोपेर आएको र केही समयपछि त्यो फुल्ने र फल्ने बताएका छन् ।

बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले विगतमा एउटै पार्टी हुँदा एमाले पृष्ठभूमिका कतिपय साथीमा अग्रगमन, जनताको अधिकारको रक्षा लगायतका विषयमा वैचारिक रुपमा सचेत र जागरुक तुल्याएको जिकिर गरे ।
केपी ओली प्रवृत्तिको नेतृत्व नरहेको अवस्थामा एमालेमा रहेका ती कयौं ‘साथी’लाई समाजवादको यात्रातिर लैजान सकिने र उनीहरुसँग सहकार्य हुन सक्ने प्रचण्डको भनाइ थियो ।

उनले माओवादीहरू एक हुनुपर्छ भन्नेमा जनताको तहबाट दबाब आएको पनि चर्चा गरे । उनले भने, ‘जनताको आवाजलाई नसुनेजस्तो गर्नु हुँदैन ।’ बिना आग्रह, बिना पूर्वाग्रह सबैलाई आत्मसमीक्षा गर्न आग्रह गर्दै उनले भने, ‘एक ठाउँमा सबै उभियौँ भने त्यो यस्तो भौतिक शक्ति हुनेछ, जसलाई कसैले रोक्नै सक्दैन ।’

माओवादीमात्र मिलेर हुन्छ भन्ने भ्रममा पनि नपर्न आग्रह गर्दै उनले सबै सच्चा कम्युनिस्टलाई एकीकृत र केन्द्रीकृत गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘माओवादी बाहिर पनि देशको स्वाधिनताका लागि लड्ने मान्छे छन् ।’ त्यस्ता मान्छे एमालेभित्र पनि रहेको उनको भनाइ थियो ।

प्रचण्डले माओवादीका सबै धारा एकीकृत हुन आवश्यक रहेको बताए । उनले विगतमा केही साथीहरु ‘क्रान्तिका लागि’ भन्दै माओवादीको मुल धारबाट बाहिरिएको र अहिले तिनैमध्ये कतिपय साथीहरु फर्किन थालेको बताए ।

‘क्रान्तिको खोजीमा, परिवर्तन र रुपान्तरणका निम्ति भन्दै उहाँहरु मुल नेतृत्वबाट अलग्गिनुभएको थियो । तीतामीठा अनुभवसहित फेरि एउटा नयाँ निष्कर्षसहित फर्किनुभयो,’ उनले विगतमा माओवादीबाट अलग्गिएका तर फेरि पार्टीमा फर्किएका नेताहरूप्रति लक्षित गर्दै भने ।

उनले देशको राष्ट्रिय स्वाधिनताका लागि, जनयुद्ध र जनआन्दोलनको बलमा हासिल उपलब्धिको रक्षा गर्न र वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डोर्याउन माओवादी धाराहरु सबै एकीकृत र केन्द्रीकृत हुन जरुरी रहेको प्रस्ट पारे ।

कसैले कसैप्रति दुराग्रह र पूर्वाग्रह होइन, राष्ट्रिय आवश्यकतालाई आत्मसात गरेर अघि बढ्नुपर्नेमा उनको जोड थियो ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ११ : ४६ बजे