Logo

Breaking News 1

एकीकृत समाजवादीको केन्द्रीय परिषद बैठक भोलि हुने, ठुलो संख्यामा विदेशी प्रतिनिधि आउने



काठमाडौं । एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीले पहिलो पटक केन्द्रीय परिषदको बैठक गर्दैछ । भोलि सोमबार हुने प्रथम केन्द्रीय परिषद् बैठकको पुरै तयारी सकिएको समाजवादीले जनाएको छ ।

काठमाडौंको प्रज्ञा भवन, कमलादीमा अध्यक्ष माधवकुमार नेपालले बिहान साढे ११ बजे बैठकको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

बैठकमा देश तथा विदेशबाट समेत गरी १५ सय भन्दा बढीको सहभागिता रहने एकीकृत समाजवादीले जनाएको छ ।

एकीकृत समाजवादीले पहिलो पटक केन्द्रीय परिषद्को बैठक बोलाएको हो । बैठकमा स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य, केन्द्रीय कमिटी सदस्य, केन्द्रीय विभागका सचिवहरु, प्रदेश कमिटीका पदाधिकारीहरु, जिल्ला कमिटीका अध्यक्षहरु, प्रदेश सम्पर्क कमिटीका अध्यक्षहरु, जेष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय सल्लाहकार लगायतका सदस्य स्वतः सदस्य हुने व्यवस्था छ ।

केन्द्रीय परिषदमा प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट एक महिलासहित दुई जना प्रतिनिधि पनि सहभागी हुनेछन् । केन्द्रीय परिषदको बैठकमा स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीबाट समृद्ध भएर आएको चुनाव सम्बन्धी प्रतिवेदनमाथि छलफल हुने छ । एमालेबाट फुटेपछि यो पार्टीले पहिलो पटक केन्द्रीय परिषद बैठक गर्न लागेको हो ।

स्थानीय चुनावमा सन्तोषजनक परिणाम नल्याएपछि आसन्न प्रतिनिधि सभा र प्रदेशसभा चुनावमा आक्रमक रुपमा जाने एकीकृत समाजवादीको तयारी छ ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ३ : ५३ बजे