Logo

मुख्य समाचार

रविको पार्टी विरुद्ध आयोगमा उजुरी, केहि दिग्गज स्वतन्त्रहरु रविकै पक्षमा



काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

स्वतन्त्र उम्मेदवारीको सानो समुहले आज निर्वाचन आयोगमा उजुरी दिएको हो । समुहका एक सदस्य डम्बर शाहुले दिएको उजुरीमा पार्टीको नाममा स्वतन्त्र शब्द प्रयोग गर्न नपाइने उल्लेख छ । रविले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्दै मंगलबार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए ।


‘कुनै पनि व्यक्तिले राजनीतिक पार्टीमा आबद्ध हुन चाहँदैन र स्वतन्त्र रुपमा चुनावमा उम्मेदवारी दिन र निर्वाचत हुन पाउने गरी संविधानले दिएको अधिकार छिनेर स्वतन्त्रको नाममा पार्टी गठन गर्नु भनेको स्वतन्त्र उम्मेदवारीमा भ्रम र अन्योल उत्पन्न भएको छ,’ निवेदनमा भनिएको छ ।

अग्रज स्वतन्त्र अभियन्ता भने रविकै पक्षमा
स्वतन्त्र अभियानमा लागेका अधिकांश अग्रज अगुवाहरु भने रविकै पक्षमा छन् । उनिहरुले यो उजुरी दिने प्रक्रिया गलत भएको बताएका छन् । केहि स्वतन्त्र व्यक्तिहरु रवितिर नखुलेपनि उजुरीका सम्बन्धमा मौन छन् ।

काठमाडौं महानगरको मेयरमा पराजित स्वतन्त्र उम्मेदवार सुमन सायमी पनि रवि बिरुद्धको उजुरीमा सन्तुष्ट देखिएका छैनन् ।

रवि विरुद्ध अर्को पनि उजुरी
रविको पार्टी विरुद्ध काभ्रेमा स्वतन्त्र उम्मेदवार बन्ने तयारी गरेका मनोज पण्डित, विश्व साइकल यात्री पुष्कर शाह, राष्ट्रिय पोशाक अभियानका अभियन्ता राजकुमार बजगाईंले पनि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई उजुरी दिएका छन् ।।

‘स्वतन्त्र’ नामले स्वतन्त्र अभियानमा असर पुर्याएको भन्दै उनीहरुले सो पार्टीको दल दर्ता रोक्न माग गर्दै उजुरी दिएका हुन् ।

उजुरी दिनेभन्दा रवि पक्षधर स्वतन्त्रहरुको समुह बलियो छ । कानुनी रुपमा स्वतन्त्र शब्द राखेर पार्टी दर्ता गर्न कुनै बाधा व्यवधान नहुने कानुनका जानकारहरुले बताउँदै आएका छन् ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  १ : ५४ बजे